१०० विकेट लिएर विश्व कीर्तिमान बनाएका सन्दीपलाई क्यानले दियो बधाई
काठमाडौं— एकदिवसीय क्रिकेटमा छिटो १०० विकेट लिएर विश्व कीर्तिमान बनाएका स्पिनर सन्दीप लामिछानेलाई बधाई दिन नेपाल क्रिकेट संघ (क्यान)ले दुई दिनअघि सानो कार्यक्रम आयोजना गरेको थियो ।
खुशीको उत्सव मनाउन आयोजना गरिएको सो कार्यक्रमको माहोलले सन्दिप निकै भावुक बने । मूलपानीस्थित क्यानकै कार्यालयमा केक काट्ने र सन्दीपलाई उपहार दिने कार्यक्रम राखिएको थियो । राष्ट्रिय टीमका सबै खेलाडी र क्यानका अधिकारीहरु उपस्थित थिए । सुरुमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई १०० विकेटका लागि बधाई लेखिएको फोटोफ्रेम प्रदान गरे । उक्त फ्रेम लिँदै गर्दा सन्दीपले आफूलाई सम्हाल्न सकेनन् । उनी भक्कानिएपछि एकछिन सन्नाटा छाएको थियो ।
अध्यक्ष चन्दले सन्दीपलाई केक काट्न आग्रह गरे । सन्दीपले चाहिँ टिमका सिनियर खेलाडी ज्ञानेन्द्र मल्ललाई बोलाए । ‘ज्ञानु दाइ प्लीज’ भन्दै सन्दीपले बोलाएपछि मल्ल आए र सन्दीपको पीठ थप्थपाए । दुई पूर्वकप्तानको आपसी सहृदयतालाई सबैले ताली बजाएर स्वागत गरे । केक काट्नुअघि सन्दीपले केही बोल्न खोजेका थिए । तर, उनको गला अवरुद्ध भयो । ‘सबैलाई धन्यवाद । त्यो फेजबाट आएर यसरी आफ्नो ठाउँबाट‘’ सन्दीपले यतिमात्रै बोल्न सके । त्यसपछि उनले आँसु पुछ्दै केक काटे ।
सन्दीपले पहिलो केक मल्ललाई नै खुवाउन खोजेका थिए । तर, मल्लले क्यान अध्यक्ष चन्दलाई खुवाउन आग्रह गरे । सन्दीपले पनि त्यही गरे । त्यसपछि उनले सबैलाई केक खुवाए । उक्त कार्यक्रमको भिडियो नेपाल क्रिकेट संघले आफ्नो युट्युब च्यानलमा हिजो अपलोड गरेको छ । सन्दीपले अग्रज खेलाडीप्रति दर्शाएको सम्मान र ज्ञानेन्द्रले सन्दीपप्रति दर्शाएको मायालाई क्रिकेट फ्यानहरुले खुलेर प्रशंसा गरेका छन् ।
स्मरणीय छ, विगतमा ज्ञानेन्द्र र सन्दीपको आपसी सम्बन्धलाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेका थिए । क्यानले ज्ञानेन्द्रलाई कारबाही गर्दै कप्तानबाट हटाएर सन्दीपलाई नयाँ कप्तान बनाएको थियो । त्यसपछि ज्ञानेन्द्र र सन्दीपबीच सम्बन्ध चिसिएको चर्चा हुने गर्थ्यो । तर, हिजोको कार्यक्रममा उनीहरुले सबै पुराना तुषहरु बिर्सेर सहृदयता देखाएका छन् ।