तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउनुहोस्ः नैनसिंह महर
काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन्। राजधानीको नयाँबानेश्वरमा सम्पर्क समितिसँगको छलफलका क्रममा आयोजित कार्यक्रममा नेता महरले सो कुरा बताएका हुन् ।
महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए। ‘बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति अधिवेशनबाट टुंगो लगाउनुपर्छ’ उनले भने। प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र सांगठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाइ छ।
मंसिर ४ मा आम निर्वाचन भएर वैशाख १० मा उपनिर्वाचन भइसक्दा समेत केन्द्रीय समिति बैठक बोलाउन पार्टी नेतृत्वले आवश्यक नठान्नु दुखद उनले बताए। पार्टीमा देखिएका कमीकमजोरीबारे गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ। उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्णरूपमा परिष्कृत हुनुपर्ने सन्देश दिएको उनले बताए। नागरिकको भावनाअनुसार काम गर्न सकेमात्रै मुलुकमा स्थायित्वको राजनीति गर्न सकिने महरले बताए। उपनिर्वाचनको नतिजा मूल धारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उनको भनाइ थियो।
राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा पैदा हुँदा नवोदित शक्तिहरूलाई फाइदा पुगेको महरको बुझाइ छ। मुलुकको स्थायी राजनीतिक शक्ति मूलधारका पार्टी रहेको भन्दै कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने उनले बताए। ‘स्थायी राजनीतिक शक्ति पनि मूलधारकै पार्टी हुन्। ठूला राजनीतिक दलहरूले समयसापेक्ष राजनीतिक दललाई परिवर्तित गर्न नसक्दा मुलुकको राजनीति लिक बाहिर जान खोजिरहेको उनले चिन्ता व्यक्त गरे। हामी यसका लागि तयार हुनुपर्छ। समाज परिवर्तनशील हुने भएकाले राजनीतिक दल पनि सोही अनुरूप गतिशील हुनसक्नुपर्ने उनको तर्क छ।