महानगरले गर्यो बालाजुस्थित पेट्रोल पम्प सिल

बिहिबार, १४ बैशाख २०८०

काठमाडौं— काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।

५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो । जसमा कोतःधुकु आयल स्टोरबारे तीन वटा जिज्ञासा राखेको थियो । निगमका अधिकारीहरुकाअनुसार पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा के हो? भनेर गम्भीर चासो राखिएको थियो ।

पत्रको जवाफमा आयल निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने धारणा व्यक्त गरेको थियो । नगर प्रहरी प्रमुख राजु पाण्डेले बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको काठमाडौं महानगरपालिकाका जानकारी दिए । यसअघि काठमाडौं महानगरपालिकाले आयल निगमले मापदण्ड विपरीत रहेका पेट्रोल पम्पहरु हटाउन सहजीकरण नगरेको भन्दै गुनासो गर्दे आएको थियो ।

२०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय ०७६ मा गरेको थियो । ती मध्ये १६ वटा पम्प राजनीतिक पहुँच लगाएर अझै पनि यथास्थानमै सञ्चालनमा छन् । त्यसमध्ये कोतःधुकु एक रहेको थियो ।