चुनौतीलाई अवसरमा बदलेर अगाडि बढ्नेछौंः सुवास नेम्वाङ

बिहिबार, १४ बैशाख २०८०

काठमाडौँ —नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमालेले आफ्नो अगाडि जति सुकै ठूलो चुनौती आएपनि त्यसलाई अवसरमा बदलेर अगाडि बढ्ने बताएका छन् ।

इलाम जिल्ला प्रतिनिधि परिषद् प्रथम बैठक उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले संसदीय मान्यता, संविधानविपरीत एमालेविरुद्ध प्रहार भइरहेको बताए । उनले भने, ‘हामीमाथिको घेराबन्दी आक्रमणलाई पराजित गर्दै उठ्नुपर्छ । हामीविरुद्धको घेराबन्दी निरन्तर जारी छ । हामी त्यो घेराबन्दीविरुद्ध निरन्तर डटेर केपी ओलीको नेतृत्वमा यहाँसम्म आइपुगेका छौं । हामी प्रष्ट छौं यो घेराबन्दीलाई तोड्नेछौं ।’

घेराबन्दीको बीचमा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले ठूलो उपलब्धि प्राप्त गरेको बताए । लोकप्रिय मतको आधारमा सबैभन्दा ठूलो पार्टी बनेको बताए । उनले भने, ‘अहिले गठबन्धनको सरकार छ । तर, त्यो कसरी चलिरहेको छ यहाँहरूले देखिराख्नुभएको छ । अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएका छैन । यो सरकार संसद्लाई विजनेश दिन सक्दैन ।’