वैदेशिक लगानीमा सञ्चालित कन्सल्टेन्सीलाई कारवाही गर्न माओवादी केन्द्र शैक्षिक परामर्श शाखा कमिटीको माग
काठमाडौं – नेकपा माओवादी केन्द्र शैक्षिक परामर्श शाखा कमिटीले वैदेशिक लगानीमा सञ्चालित तथा प्रेञ्चाइज शैक्षिक कन्सल्टेन्सीलाई कारवाही गर्न माग गरेको छ । ‘वैदेशिक अध्ययन सम्बन्धि निर्देशिका २०७९’ परिमार्जन गरि एनओसी सहज गरिदिएकोमा सरकारलाई धन्यवाद दिन आयोजित पत्रकार सम्मेलनमा विदेशी कम्पनीलाई कारबाही गर्न माग गरिएको हो ।
कमिटिले बिहीबार एक पत्रकार सम्मेलन आयोजना गरि निर्देशिका परिमार्जनसहित विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई एनओसी लिन सहज गरिदिएकोमा प्रचण्ड सरकारलाई धन्यवाद दिएको छ । ‘वैदेशिक अध्ययन सम्बन्धि निर्देशिका २०७९’ ले भेट एजुकेशन तथा भाषा शिक्षा पढ्न रोक लगाई आर्थिक रुपमा बिपन्न तर प्रगतिशिल विद्यार्थीहरुलाई संकुचित गर्ने काम निर्देशिकाले गरेको भन्दै यसलाई सच्याएर सरकारले विद्यार्थीको पक्षमा सहि निर्णय गरेको कमिटिका अध्यक्ष युवराज कटुवालले बताए ।
उनले यस्तो कार्यक्रममा ग्रामिण इलाकाबाट थोरै लगानीमा सुखद भबिष्य र गुणस्तरिय शिक्षा खोज्दै आर्थिक बिपन्नहरुले आवेदन लिने गरेको भन्दै शैक्षिक माफियाका कारण उनीहरुको अधिकार खोस्न खोजिएको प्रति आपत्ति जनाए । ‘गरिव तथा विपन्न विद्यार्थीले विदेशमा गएर पढ्न पाउने अधिकारलाई यसअघि जारि भएको निर्देशिकाले कुण्ठित गरेको थियो, हाम्रो शाखाले दिएको सुझाव दिएको थियो ।’, उनले भने, ‘हाम्रो सुझावलाई आत्मसाथ गर्दै सरकारले सम्पूर्ण मध्यम वर्गीय परिवारका विद्यार्थीहरुलाई वैदेशिक अध्ययन गर्न सहज गरिदिएको छ । यसका लागि सरकारलाई धन्यवाद ।’

कमिटीले आपत्तिजनक प्रावधान संसोधनसहित एनओसी सहज गरिदिएकोमा सरकारलाई धन्यवादसंगै संसोधित निर्देशिकाको स्वागतसमेत गरेको छ । योसंगै शाखाले सरकार तथा सम्बन्धित जिम्वेवार निकायहरुसँग सानो लगानीमा चल्ने यो व्यवसायमा शैक्षिक माफियाहरुको हालीमुहाली भएको भन्दै विदेशी लगानी तथा फ़्रेञ्चाइज कम्पनीहरुलाई अनुसन्धानको दायरामा ल्याएर अबिलम्ब कारवाहीको मागसमेत गरेको छ ।
नेपाली विद्यार्थीलाई विदेश अध्ययनमा सहज तथा विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आउने वातावरण मिलाउन उनीहरुको माग छ । कार्यक्रमको अध्यक्ष शाखा कमिटिका अध्यक्ष कटुवालले गरेका थिए भने संचालन शाखाका सचिव भवनाथ हुमागाईले गरेका थिए ।

