विचौलियाका कारण बदनाम बन्दै जापानको ताकाराजुका विश्वविद्यालय
काठमाडौं – विचौलियाका कारण जापानको ताकाराजुका विश्वविद्यालय नेपालमा बदनाम बनेको छ । भर्नाका लागि कागजात पठाएका विद्यार्थीहरुको एक वर्षसम्म पनि योग्यताको प्रमाणपत्र (सीओई) नआएपछि विश्वविद्यालय बदनाम बनेको हो ।
यो विश्वविद्यालयमा भाषा अध्ययनका लागि नेपालबाट सक्कली शैक्षिक योग्यताको प्रमाणपत्र, सक्कली पासवर्ड बुझाएका विद्यार्थीहरुको सीओई नआएपछि विद्यार्थी आक्रोशित बनेका छन् । उनीहरुको भविश्य समेत अन्धकार बन्ने भएपछि विद्यार्थीले सामाजिक संजाल फेसबुकमा ताकाराजुका पीडित समूह बनाएर विश्वविद्यालयको चर्काे विरोध गरिरहेका छन् ।
जापानमा नाम चलेको यो विश्वविद्यालयमा धेरै विद्यार्थीको आवेदन परेकाले समस्या आएको हुनसक्ने शैक्षिक परामर्श व्यवसायीको भनाई छ । नेपालमा विचौलियामार्फत काम गर्ने शैक्षिक कन्सल्टेन्सीका विद्यार्थीहरु सबैभन्दा धेरै समस्यामा परेको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङका सीईओ योग्यविलास पौडेल (वाइबी) को दावि छ ।
‘यो विश्वविद्यालयमा हाम्रो त कुनै समस्या छैन् । अरु साथीहरुको समस्या छ भन्ने सुनेको छु । हाम्रो विद्यार्थीको सीओई समयमै आएको छ ।’, उनले भने, ‘डाइरेक्ट काम नगरेर विचौलियाको मार्फत काम गर्नेहरुको समस्या हो भन्ने मेरो बुझाई छ । मैले सुने अनुसार नेपालका कन्सल्टेन्सीहरुले एउटा एजेण्टलाई फायल दिनुभयो । त्यो कन्सल्टेन्सीले जापानको एउटा एजेण्टलाई फायल दियाे । जापानको एजेण्टले विश्वविद्यालयसम्म फायल पठाइदिएन । विश्वविद्यालयमा फायल नपुग्दा विद्यार्थीको सीओई आउने कुरै भएन । त्यही भएर विचौलियामार्फत काम गर्नु राम्रो होइन । सिधै पायल पठाउने व्यवस्था मिलाउन म व्यवसायी साथीहरुलाई अपिल गर्दछु ।’
यता व्यवसायीहरुले विश्वविद्यालयमा कार्यरत कर्मचारीका कारण विद्यार्थीको सीओई आउन ढिलाई भएको आरोप लगाएका छन् । ‘एक व्यक्ति त्यो विश्वविद्यालयमा कार्यरत भएकाले हाम्रो विद्यार्थीले दुःख पाए ।’, नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले भने, ‘उसलाई एउटा विद्यार्थी बापत ३० हजार रुपैयाँ छुट्याउने व्यवसायीका विद्यार्थीको सीओई आएको छ । अरु व्यवसायीले पठाएका विद्यार्थीको सिओई आएन ।’
उता, विश्वविद्यालयले विद्यार्थी तथा शैक्षिक परामर्श व्यवसायीलाई धैर्यता राखिदिन आग्रह गरेको छ । सबै व्यवसायीलाई इमेल पठाउँदै विश्वविद्यालयले भनेको छ, ‘सीओईको नतिजा प्रकाशनमा भएको ढिलाइको बारेमा जानकारी गराउन हामी यो मेल लेखिरहेका छौं। हामी बुझ्छौं कि तपाईले नतिजाको लागि उत्सुकतापूर्वक पर्खिरहनुभएको छ र हामी तपाईलाई आश्वस्त पार्न चाहन्छु कि हामी पनि तपाईं जस्तै पर्खिरहेका छौं । हामी बुझ्छौं कि यो ढिलाइले तपाईंलाई निराश पार्न सक्छ, तर कृपया अलि बढी धैर्य गर्नुहोस्।’
विश्वविद्यालयले प्रत्येक कागजात अध्यागमनमा पेस गरिसकेको जनाएको छ । ‘हामीले प्रत्यक काजात अध्यागमनमा पेस गरिसकेका छौं । नतिजा हाम्रो हातमा हुँदैन। हामीले नतिजा छिट्टै प्रकाशित हुनेछ भन्ने आशा राखेका छौं ।’, इमेलमार्फट विश्वविद्यालयले भनेको छ, ‘तर निश्चित रूपमा भन्न सक्दैनौं। हामी तपाईंलाई अध्यागमनबाट कुनै पनि सूचनामा अद्यावधिक राख्नेछौं र तपाईंलाई सकेसम्म चाँडो जानकारी दिनेछौं।’
यो विश्वविद्यालयले मेडिकल शिक्षा अधयापन गराउने गर्दछ । विश्वविद्यालयले संचालन गरेको जापानीज भाषा कार्यक्रममा नेपाली विद्यार्थीले भाषा अध्ययनका लागि आवेदन दिएका थिए । विश्वविद्यालयले विश्वविद्यालयमा एउटा विभाग खडागरी जापानीज भाषा कार्यक्रम संचालन गर्दै आएको छ ।
