संसदमा रविको गर्जन, सचेत पुस्ता राजनीतिमा आयो सदनमा अब लाजनीति चल्दैन

शुक्रबार, १५ बैशाख २०८०

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले अब राजनीतिमा सचेत पुस्ता आएकाले संसदमा लाजनीति नचल्ने बताएका छन्।

फरार सुचिमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी बिरामी भएकोले सदनमा अनुपस्थित भएको भनि सभामुखले जानकारी गराएपछि आक्रोसित हुँदै लामिछानेले भागेर भारतमा पुगेको प्रमाण आफूसँग रहेको दाबी गर्दै अब सदनमा राजनीतिको नाममा लाजनीति नचल्ने बताएका हुन्।

शुक्रबार संसदमा विशेष समय लिएर बोल्ने क्रममा उनले कोइरी भारतमा रहेको र त्यहाँ पक्राउ परेको प्रमाण आफूसँग रहेको दाबी गरे।
सभामुखले कोइरी बिरामी रहेको बताएपछि संसद बैठकमा हो(हल्ला भएको थियो। एमाले सांसद कोइरी एम्बुलेन्सबाट बिरामी थुतेर हत्यामा संलग्न हुन्।

पक्राउ पर्ने डरले उनी फरार छन्। तर शुक्रबार सभामुखले उनी बिरामी रहेको बताएपछि बैठकमा विरोध भएको थियो।

सभामुखको प्रस्तावको एमालेबाहेकका दलले विरोध गरेका छन्।

रास्वपा सभापति लामिछानेले भने, ‘उहाँ बिरामी परेको होइन, उहाँ फरार अभियुक्त हो। हामीले खोजिगरिरहँदा उहाँको सालोले भारतबाट तस्बिर पनि पठाएका थिए। उहाँ भागेर गएको ठाउँ र त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको तस्बिर पनि म सँग सुरक्षित छ।’

रविले भने, ‘यो गरिमामय संसदले एउटा फरार अभियुक्तलाई बिरामी भनेर करार गर्ने हो भने लोकतन्त्रमा योभन्दा ठूलो मजाक केही पनि हुँदैन। यो हास्यास्पद श्रृंखला बन्द गर्नुपर्छ।’

अब नयाँ पुस्ताका राजनीतिज्ञहरु पनि राजनीतिमा आएकाले राजनीतिका नाममा लाजनीति सदनमा नचलाउन पनि उनले आग्रह गरे।