पुनको आन्दोलनलाई समर्थन जनाउन राप्रपा अध्यक्ष देखि डा.केसी सम्म पुगे माइतीघर
काठमाडौं— राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई राप्रपाले ऐक्यबद्धता जनाएको छ। पुनको आन्दोलनमा समर्थन जनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका साथै डा. गोविन्द केसी पनि माइतिघर पुगेका हुन्।
अध्यक्ष लिङ्देनले यो व्यक्ति र क्षेत्रको कुरा नभएर अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धनको विषयमा सरकार गम्भीर बन्नुपर्ने कुरा बताए। उनले भने, ‘उहाँहरूले उठाएको कुरामा सरकारले सम्बोधन गर्नुपर्छ। तर, उहाँ जस्तो मान्छे सडकमा आएर धर्ना बस्न बाध्य बनाएको छ। सरकारले माग पुरा नगरेसम्म हाम्रो साथ रहन्छ। यो कुनै तर्कबाट टाल्नुपर्ने होइन।’
प्रधानमन्त्रीले आएर पुनसँग तत्काल सम्झौता गर्नुपर्ने बताए। संसदबाट कानुन बनाएर भए पुनको माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। ‘पूर्व लडाकु र स्वास्थ्य उपचारको लागि करोडौँ पैसा बाँड्न सक्नेले आविष्कारको लागि किन खर्च गर्न सक्दैन’ उनले प्रश्न गरे।