सिंहदरबार प्रवेशमा रोक

बिहिबार, २१ बैशाख २०८०

काठमाडौं— संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।

वैशाख १९ बाट जारी आन्दोलन अन्तर्गत आज राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरू आज सिंहदरबार नछिर्ने भएका हुन् । संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले यसअघि नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, मधेशी निजामती कर्मचारीले संयुक्त रूपमा प्रवेश गर्ने बताएपनि अन्तिममा अरु संगठनले हात झिकेको बताए ।

गठबन्धन दलमा आबद्ध संगगठनहरुले आजका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । यसअघि वैशाख १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो । वैशाख २० गते बुधवार पनि प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, कानून न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई देश भरीबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराई सकिएको उनले बताए ।