श्रीमतीको नाममा लोसपा अध्यक्ष ठाकुरले भारतीय दूतावासबाट लिए ग्यास चुल्हो र सिलिन्डर

शुक्रबार, २२ बैशाख २०८०

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले श्रीमती सुशीला ठाकुरको नाममा नेपालस्थित भारतीय दूतावासबाट ग्यास चुल्हो र सिलिन्डर लिएका छन् ।

उनले सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसन गठन गरी नेपालस्थित भारतीय दूतावासबाट ग्यास चुल्हो र सिलिन्डर लिएर आफ्नो चुनावी क्षेत्र महोत्तरीमा वितरण गर्ने भएका छन् । हिजो एक कार्यक्रमको आयोजना गरी भारतीय दूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेशनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो फाउन्डेसनका अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुर रहेकी छिन् । सम्झौता पत्रका फाउन्डेसनको तर्फबाट मिनाक्षी ठाकुरले हस्ताक्षर गरेकी छिन् ।

सम्झौता अनुसार दूतावासबाट प्राप्त ग्यास चुल्हो र सिलिण्डर महोत्तरी जिल्लाको पाँच वटा नगरपालिकाका झन्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवारलाई वितरण गर्नेछ । दाउरा, कोइला, गुँइठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका घरपरिवारलाई एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धन उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख रहेको स्रोतले जनाएको छ । भारत सरकारले अघि सारेको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो कार्यक्रम प्रेरित रहेको छ ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको पाँच करोड रुपियाँ अनुदान सहयोगमा महोत्तरी जिल्लामा एलपी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण हुने भारतीय दूतावासले जनाएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहु क्षेत्रीय सहकार्य रहेको दाबी गर्दै भारतीय दूतावासले यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको दाबी गरेको छ ।