सार्वजनिक विदाका दिन पनि खुल्यो एनओसी शाखा, कतिले लिए एनओसी ?

शुक्रबार, २२ बैशाख २०८०

काठमाडौं – आज बुद्ध पूर्णिमा । बुद्ध पूर्णिको अवसरमा सरकारले सार्वजनिक विदा दिएको थियो । सार्वजनिक विदाको दिनमा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको वैदेशिक अध्ययन अनुमति शाखाले आफ्नो सेवा प्रवाहलाई निरन्तरता दिएको छ ।

सरकारले सार्वजनिक सेवा प्रवाहको चाप हुने कार्यालयहरूमा सार्वजनिक विदाको दिनमा पनि खुला गरी सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेपछि एनओसी शाखाले पनि आफ्नो सेवालाई निरन्तरता दिएको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ । नेपाल राजपत्रमा प्रकाशन भए बमोजिमका शाखाले सेवा प्रवाहलाई निरन्तरता दिएको शाखा प्रमुख तथा नेपाल सरकारका उपसचिव वासुदेव वस्थीले बताए ।

वस्थीका अनुसार आज १७ जना विद्यार्थीले विभिन्न देशमा अध्ययनका लागि एनओसी लिएका छन् । ‘आज ४ सय १९ जनाको अनलाईन आवेदन आएका थियो । त्यसमध्ये यसअघि आएका ६ सय ३० जनाको आवेदन भेरिफाइड भएको छ भने १ सय ३१ जनाको फायल अस्वीकृत भएका छन् ।’, शाखा प्रमुख वस्थीले भने, ‘आजका लागि ३ सय जनाका लागि भिजिटिङ डेट दिइएको थियो । जम्मा १७ जनाले आज सेवा लिनुभएको छ । ५ जनाको एनओसी रद्द भएको छ ।’

धेरैजसो सेवाग्राहीहरूमा सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्छ भन्ने विषयमा जानकारी नभएकाले समय पाएर पनि सेवाग्राहीहरूको उपस्थिति न्यून भएको उनको भनाई छ । वस्थीले सार्वजनिक विदाको दिनमासमेत विदा नलिएर सेवा प्रवाह गर्दा यसको व्यवस्थापन पक्ष प्रभावकारी बनाउन आवश्यक कार्यविधि बनाउनु जरुरी रहेको मन्त्रालयलाई  सुझाब दिएका छन् ।

साथै, वैदेशिक अध्ययन अनुमति शाखाले सेवा प्रवाहलाई अनलाइन सेवा प्रणालीमा लैजाने सन्दर्भमा वैदेशिक मुद्रा सटही सुविधा दिने बैंकहरूको विवरण सङ्कलन गरी उनीहरुलाई युजर आईडी बनाएर काम सुरु भएको शाखाले जनाएको छ ।