पत्रकार महासंघ सुनसरीले गर्यो हर्कलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह

आइतबार, २४ बैशाख २०८०

काठमाडौं— नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्कराज राई (साम्पाङ) लाई पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरेको छ । महासंघले हर्कलाई पत्रकारलाई अमर्यादित र असोभनीय शब्द प्रयोग गरेर गाली गरेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न पनि आग्रह गरेको छ ।

केहिदिनदेखि मेयर राईले पत्रकारलाई विभिन्न राजनैतिक दलहरूको झोले भन्दै सामाजिक सञ्‍जालमा अमर्यादित र असोभनीय शब्द प्रयोग गरी गाली गर्दै धम्की दिएपछि पत्रकार महासंघ सुनसरीले त्यस्ता गतिविधि बन्द गर्न उनलाई अनुरोध गरेको हो । मेयर राईले पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष केशव घिमिरे, स्थानीय ब्लाष्ट टाइम्स दैनिक र कपुरी डटकम अनलाइनलाई अमर्यादित शब्द प्रयोग गर्दै धम्की दिएका थिए । त्यसपछि पत्रकार महासंघ सुनसरीको टोलीले आइतबार मेयर राईलाई कार्यकक्षमै भेटेर अबदेखि त्यस्ता हर्कत नदेखाउन र पत्रकारलाई अमर्यादित शब्द प्रयोग गरी धम्की नदिन तीन दिनभित्र आफ्नो धारणा सार्वजनिक गर्न माग गरेको छ ।

मेयर राईलाई ध्यानाकर्षण पत्र बुझाएको र तीन दिनभित्र चित्त बुझ्दो जवाफ नआए सुनसरी पत्रकार महासंघ मेयरविरुद्ध आन्दोलनमा उत्रने महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताएका छन् । पत्रकार महासंघको ध्यानाकर्षण बुझ्दै मेयर राईले धरानका केहि पत्रकारले आफूविरुद्ध अनावश्यक समाचार प्रकाशित गरेको र निराधार आरोप लगाएको बताए।

उनले पत्रकारलाई धरान नगरपालिकाले गरेका राम्रा कामको पनि समाचार प्रकाशित गरिदिन आग्रह गर्दै पत्रकार महासंघले मागेको समय सिमाभित्र आफ्नो धारणा सार्वजनिक गर्ने बताए । धरानमा खानेपानी आयोजनामा श्रम अभियान चलाउँदै आएका मेय राई पछिल्लो समय सामाजिक सञ्जालमा राजनीतिक दलका कार्यकर्ता, धरानका अन्य जनप्रतिनिधि, पत्रकारलाई अमर्यादित शब्द प्रयोग गर्दै गाली गर्न थालेपछि विवादित बनेका छन् ।