शासन प्रणालीमा पुनर्विचार आवश्यक छः प्रभु साह

मंगलबार, २६ बैशाख २०८०

काठमाडौं— स्वतन्त्र सांसद प्रभु साहले शासन प्रणालीमा पुनर्विचार आवश्यक रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सो कुरा बताएका हुन् । उनले शासन प्रणालीलाई अलग राखेर आर्थिक समस्या समाधानको कुरा अर्थहीन हुने बताए । “हामीले अपानएको शासन प्रणालीमा एकपटक विचार गरौँ । नेपाली जनताले नेपालमा भविष्य देख्न छाडे,” उनले भने ।

साहले देशमा भविष्य देख्न छाडेर युवा, मजदुर, पुँजीपतिहरू विदेश गइरहेको उल्लेख गरे । आम जनतामा राज्य मेरो हो भन्ने भाव आउन नसकेको उनको भनाइ छ । दलका नेता र आसेपासेलाई मात्र राज्य आफ्नो लाग्ने गरेको जिकिर उनले गरे । अहिले अपनाइरहेको प्रणालीले सही नेतृत्व छान्न नसकेको भन्दै उनले पुनर्विचार गर्न आग्रह गरे । “प्रणालीले सही नेतृत्व छान्न सकिरहेको छैन । सही नेतृत्व आयो भने टिकाउन सकिरहेको छैन । काम गर्न सकेको छैन,” उनले भने ।