विगतको राजनीतिको ब्याज खाएर रमाउँदा देशको बेहाल भयोः विराजभक्त श्रेष्ठ

मंगलबार, २६ बैशाख २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले दलका नेताहरू विगतको राजनीतिको ब्याज खाएर रमाउँदा देशको बेहाल भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले सो कुरा बताएको हुन् । उनले आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले सबैको ध्यान देश निर्माणमा हुनुपर्नेमा जोड दिए । “अब विगतको राजनीतिको ब्याज खान छोड्दिनुस् । विगतको, ७० वर्षको, २५० वर्षको, यी नेताहरूले यो भनेका थिए भन्न छोड्दिनुस्,” उनले भने, “अब सहकार्य गरेर २१औँ शताब्दीको सम्भावना यो सदनबाट खोजौँ । हाम्रो राज्य यो ३० वर्षमा राजनीति व्यवस्थापन हो भन्ने कुरा नै नबुझेर चुकेको छ ।” समाजवादका कुरा गरेर त्यसको मापन हुन नसक्दा पनि समस्या निम्तिएको उनको भनाइ छ । समाजवाद शब्दमा मात्र अल्झिँदा नागरिकको समस्या ज्युँका त्युँ भएको उनले बताए ।

“समाजवाद शब्दले मात्र नागरिकको दाल गल्दैन । समाजवाद कति प्रतिशत भयो भनेर त्यसको रिपोर्ट कार्ड अब चाइयो । यो शब्द मैले सानैदेखि सुन्दै आएको हो,” उनले भने । अहिले दोहनकारी राज्य भएको र त्यसैमा सबै राजनीतिक नेतृत्व रमाएको उनको आरोप छ । “राज्यको संयन्त्रहरू प्रयोग गरेर आम नागरिकबाट रगत चुसेको जस्तो कर हुन्छ कि पैसा चुसेर दोहनकारी राज्य व्यवस्था चलिरहेको छ । यसको अन्त्य हुनुपर्छ,” उनले भने, “समृद्धिले अब पुग्दैन । यो नारा पुरानो भयो । अब समृृद्धि चाहिन्छ । सबैले सबै भूगोल, सबै क्षेत्र र सबै समावेशिताका सिद्धान्तहरूले आ–आफ्नो ठाउँबाट प्रगति र उन्नति गर्ने कुरालाई समृृद्धि भनिन्छ ।”