बिजुली निर्यातबाट व्यापार घाटाको खाडल पुर्न सकिन्छः विनोद चौधरी
काठमाडौं– सांसद विनोद चौधरीले बिजुली निर्यातबाट नेपालको व्यापार घाटाको खाडल पुर्न सकिने बताएका छन् ।
प्रतिनिधिसभामा जारी बजेटका प्राथमिकता तथा सिद्धान्तको छलफलमा बोल्दै सांसद चौधरीले सो कुरा बताएका हुन् । उनले बिजुली व्यापारबाट नै वस्तु आयात गर्दाको व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताए । ‘पछिल्लो समयमा नेपालमा जलविद्युत उत्पादनमा उत्कृष्ट मोडल सामन्ने आएको छ,’ चौधरीले भने, ‘पहिलोपटक नेपाल र भारतको संयुक्त लगानीमा अरुण ४ आयोजना बन्दैछ ।’
यसबाट २१.९ प्रतिशत निःशूल्क बिजुली नेपालले पाउनेछ । यसैगरी, अरुण तेस्रो समेत निर्माणाधीन अवस्थामा रहेको र कर्णाली नदीको आसपासमा समेत हजारौं मेगावाट बिजुली उत्पादनको सम्भावना छ । अरुण चौथोको यही मोडललाई पछ्याउँदै जलविद्युतमा फड्को मार्ने र देशको व्यापारघाटालाई सन्तुलनमा ल्याउन सकिने चौधरीले बताए । अरुण चौथोबाट नेपालले निःशूल्क बिजुली पनि पाउने र व्यवसायीक साझेदार पनि बन्ने भएकाले यो मोडल उत्कृष्ट भएको चौधरीको भनाई छ । ‘वस्तुको व्यापारबाट व्यापार घाटाको खाडल पुरा गर्न मुस्किल पर्छ,’ चौधरीले थपे, ‘यहि कारण, जलविद्युत आयोजना निर्माण गरेर बिजुली निर्यातमार्फत व्यापार घाटाको खाडल पुर्न सकिन्छ ।’
आफ्नो चाहना सबै बिजुली स्वदेशमै बिजुली खपत गर्नुपर्छ भन्ने रहेपनि निर्यातको विकल्प नरहेको चौधरीको भनाई छ । यस्तै, पछिल्ला केही दशकमा विश्व अर्थतन्त्रको दिशा नै यूर्टन भएको छ । सूचना प्रविधिमा आधारित व्यवसायहरु अर्थतन्त्र अघिल्लो पंक्तिमा उभिएको उदाहरण दिँदै नेपालले पनि सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति गर्नुपर्ने चौधरीको भनाई छ । ‘आजका दिनमा डिजिटल प्रविधिमा आधारित व्यवसायले सफलताका कथा बुनेका छन्,’ चौधरीले थपे, ‘आजका दिनमा गूगलदेखि फेसबुक र ह्वाट्सएप जस्ता कम्पनी यहि क्रान्तिका नतिजा हुन् । डिजिटल क्रान्तिले कुनै पनि भौगोलिक सीमा चिन्दैन ।’