पूर्वगृहमन्त्री पक्राउ परे संगै रविले दिए नेपाल प्रहरी, गृहमन्त्री श्रेष्ठ र प्रधानमन्त्रीलाई धन्यवाद
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल प्रहरी, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन्।
खाँड पक्राउ पर्ने वित्तिकै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले सामाजिक सञ्जालमा लेख्दै नेपाल प्रहरी,गृहमन्त्री र प्रधानमन्त्रीलाई बधाइ दिएका हुन्।उनले लेखेका छन्( धन्यवाद नेपाल प्रहरी,धन्यवाद गृहमन्त्रीज्यू,धन्यवाद प्रधानमन्त्रीज्यू। यो शिलशिला नरोकियोस् कुनै हालतमा नकरोकियोस्।’ नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री खाँण आज बिहान पक्राउ परेका छन्। उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी समेत पक्राउ परेका छन्।यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यसअघि मंगलबार काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ ।जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।