प्रहरीको अनुसन्धानमा डिस्टर्ब नगर्ने तीन दलबिच सहमती

बुधबार, २७ बैशाख २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भुटानी शरणार्थी प्रकरणमा थालेको प्रहरीको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमती भएको बताएका छन् ।

सिंहदरबारमा बुधबार भएको तीन दलको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ ।’

उनले मिडियामा प्रचार भएजसरी हामी तीन दलका शीर्ष नेताहरुको भेट नभएको उनको भनाइ छ। उनले सदन कसरी अगाडी बढाउने समितिहरु कसरी बनाउने विषयमा छलफल मात्रै भएको बताए । उनले भने, ‘ मिडियामा प्रचार भएजसरी तीन जनाको भेट भएको होइन । सदन कसरी अगाडि बढाउने, समितिहरू कसरी बनाउने भन्नेबारे छलफल भएको हो । आशंका गर्नुपर्ने कारण छैन ।’