शरणार्थी समस्याका विषयमा मेरो लामो अनुभव छ, संसदमा तथ्य–प्रमाणसहित बोल्नेछुः ओली
काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी समस्याका विषयमा आफ्नो लामो अनुभव भएको भन्दै सो प्रकरणबारे आफूले संसदमा तथ्य–प्रमाणसहित बोल्ने बताएका छन् ।
ओलीले आफू गृहमन्त्री भएका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भुटानी शरणार्थीको तेस्रो राष्ट्रमा पुनःस्थापनाबारे पहिलोपटक सल्लाह गरेको बताए । त्यसबेला बिरामी अवस्थामा रहेका कोइरालाको स्वीकृतिमा आफूले यो विषय अगाडि बढाएको उनको भनाई छ ।
‘हामीले अब शरणार्थी पालिराख्न सम्भव छैन, थर्ड कन्ट्री सेटलमेन्ट गर्नुपर्छ भन्ने प्रस्ताव गिरिजाप्रसादसँग राख्दा उहाँले तपाई प्रयास गर्नुस् भन्नुभयो,’ उनले भने ।त्यसपछि न्यूयोर्कमा आयोजित अमेरिकी राष्ट्रपतिले दिएको रिसेप्सनमा भुटानी शरणार्थीको सेटलमेन्टबारे पहिलोपटक प्रस्ताव राखेको ओलीले जानकारी दिए । तत्कालीन अमेरकी राष्ट्रपति जर्ज डब्लु बुशले आफूसँग शरणार्थीको विषयमा जिज्ञासा राखेको ओलीले बताए ।
उनले थपे, ‘रिसेप्सनमा घुम्दै जाँदा उहाँले मलाई सोध्नुभयो । मैले भनेँ– हामीलाई ठूलो समस्या भयो । समस्या तन्किँदै जाँदा हामीले थेग्न सक्दैनौं । महामहिमज्यू, तपाईंले हामीलाई मद्दत गर्नुपर्यो भनेर उभिएरै प्रस्ताव राखेँ । उहाँले कोन्डालिजा राईससँग कुरा हुँदैछ क्यारे, उहाँसँगै डिटेलमा कुरा गर्नुस भन्नुभयो । म कोन्डालिजालाई भनुँला भन्नुभयो । त्यसपछि डिसीमा कोन्डालिजासँग मेरो लामै कुरा भयो । त्यो कुराकानीको रेकर्ड अहिले पनि परराष्ट्रमा होला ।’
ओलीले २००८ देखि भुटानी शरणार्थीको सेटलमेन्ट सुरु भएको र २०१२ देखि यसमा विभिन्न गिरोह सक्रिय रहेको उल्लेख गरे । यो विषयमा अझै विस्तृत अध्ययन गरेर आगामी ४ गते संसदमा बोल्ने ओलीले बताए । कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु,’ ओलीले भने ।