चाणक्यको सादापन

शुक्रबार, २९ बैशाख २०८०

काठमाडौं – चाणक्य अर्थनीति, कूटनीति, राजनीति, धर्मनीतिजस्ता राज्यका मूल नीतिमा पारंगत थिए । उनी मौर्य सम्राट् चन्द्र गुप्तका महामन्त्री थिए । चाणक्य आफू त इमानदार थिए नै, उनी आफ्ना मन्त्री, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिज्ञ सबैबाट आफ्नो जस्तै व्यवहारको अपेक्षा पनि गर्थे । उनी राज्यको थोरैभन्दा थोरै धन पनि हिनामिना गरिनु हुँदैन भन्नेमा दृढ थिए । उनी जहिल्यै देश र जनताको सेवामा तत्पर रहन्थे । उनी आफू त सादा जीवन बिताउँथे नै, साथै राज्यका अन्य अधिकारीबाट पनि त्यस्तै जीवनको अपेक्षा गर्थे ।

एकपटक मौर्य साम्राज्यको कुनै एक गाउँमा चिसोले निकै सतायो । गरिब जनता चिसोबाट आफू, बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने चिन्तामा परे । यो खबर महामन्त्री चाणक्यसम्म पुग्यो । उनले तत्काल राजभण्डारमा रहेका कम्बल निकालेर वितरणका लागि आफ्नो कुटीमा लगेर राखे । उनले भोलिपल्ट स्वयं गाउँमा पुगेर चिसोपीडितलाई कम्बल वितरण गर्ने निर्णय गरेर त्यसका लागि आवश्यक प्रबन्धसमेत मिलाए ।

राति आचार्य चाणक्य खानपिनपछि कुटीमा सुते । त्यसै राति एउटा चोर चोरी गर्न उनको कुटीमा पस्यो । उसले कुटीमा यताउता धेरै खोज्यो, तर खासै केही पाएन । अन्त्यमा ऊ चिसोबाट पीडित जनतालाई वितरण गर्न तयारी अवस्थामा राखिएको कम्बल भएको स्थानमा पुग्यो । उसले तिनै कम्बल लिएर भाग्ने सोच बनायो । तर, कम्बल लिएर भाग्नै लाग्दा उसले नजिकै सुतिरहेका महामन्त्री आचार्य चाणक्यलाई देख्यो । चाणक्य एउटा फाटेको कम्बल ओढेर सुतिरहेका थिए ।

देशका महामन्त्री चाणक्यले स्वयं फाटेको कम्बल ओढेर जनतालाई नयाँ कम्बल बाँड्ने तयारी गरिरहेको देखेर चोरको अन्तरात्माले उसलाई धिक्का¥यो । ऊ त्यहाँबाट महामन्त्री चाणक्यको सादापनलाई मनमनै सलाम गरेर रित्तै हात कुलेलम ठोक्यो ।