अपराधमा सजाय पाएकाहरूलाई सत्ता र धनको स्वार्थमा छुट दिन खोजियोः भीम रावल

शुक्रबार, २९ बैशाख २०८०

काठमाडौं— नेकपा एमालेका नेता भीम रावलले अपराधमा सजाय पाएकाहरूलाई सत्ता र धनको स्वार्थमा छुट दिन खोजिएको टिप्पणी गरेका छन् । उनले अपराधमा कानुन बमोजिम सजाय पाएकाहरूलाई छुट दिने कानुन बनाउने कुराले सुशासनको धज्जी उडाएको पनि बताए।

रावलले सामाजिक संजाल ट्विटरमा लेख्दै भने, ‘राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण एवं निहित स्वार्थका लागि राज्यसत्ताको चरम दुरूपयोग निन्दनीय छ । अपराधमा कानुन बमोजिम सजाय पाएकाहरूलाई समेत सत्ता र धनको स्वार्थमा छुट दिने कानुन बनाउने निर्लज्ज कूकृत्यले सुशासनका कुराको धज्जी उडाएको छ।’

सरकारले पूर्वसांसद रेशम चौधरी, सिके राउत नेतृत्वको पार्टीका नेता कार्यकर्ता र विप्लव नेतृत्वको माओवादीका नेता र कार्यकर्ताको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधन दर्ता गराएको छ। सरकारले प्रतिनिधि सभामा दर्ता गराएको केही नेपाल ऐन संशोधन विधेयकमार्फत् फौजदारी कार्यविधि संहितामा संशोधन गर्दै नयाँ दफा थप गर्न लागेको हो। रावलको टिप्पणी सोहीबारेमा रहेको बुझ्न सकिन्छ।