नक्कली बिल बनाएर रकम अशुल्दै रामेछापको मन्थली हाइस्कुल

सोमबार, १ जेष्ठ २०८०

रामेछाप – जिल्लाको मन्थली नगरपालिकामा अवस्थित मन्थली सेकेन्डरी स्कुलले नक्कली बि बनाएर रकम अशुल्ने गरेको पाइएको छ । विद्यालयले विद्यार्थीहरूबाट नक्कली बिल बनाई चर्को रकम अशुल्ने गरेको पाइएको हो ।

शिक्षा ऐन अन्तरगतको शिक्षा नियमवालीमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था विपरित विद्यालयले प्रतिविद्यार्थी ३ हजार ५ सयभन्दा बढी रकम भर्ना शुल्कको नाममा अशुली गरेको छ । ३ हजार ५ सय रुपैयाँ तिर्न नसक्ने विद्यार्थीका अभिभावकलाई नक्कली बिल बनाएर दुई हजार रुपैयाँ अशुलेको अभिभावकले गुनासो गरेका छन् ।

रामेछापको मन्थलीमा रहेको मन्थली सेकेन्डरी स्कुलले अभिभावबाट लिएको २ हजार घुसको रुपमा लिएको बुझिने नेपाल कम्युनिस्ट पार्टी रामेछापले जनाएको छ । विद्यार्थीहरुबाट चर्को महसुल उठाउदै आर्थिक दुरुपयोगसमेत गरेको अभिभावक र विद्यार्थीहरुको व्यापक जनगुनासो आएपछि नेकपा रामेछापले यस्तो नगर्न चेतावनी दिएका छन् ।

‘चर्को शुल्कको कारण विद्यार्थीहरुले पढ्न र स्कुलसम्म जानसमेत नपाएको गुनासो गरेका छन् ।’, नेकपा रामेछाप सेक्रेटरी बद्री सीले भने, ‘स्कुलले फर्जी बिलसम्म बनाउदै पैसा असुल गरेको समेत पाइएको छ। उक्त चर्को शुल्क असुलीप्रति नेपाल कम्युनिस्ट पार्टी रामेछापको आपत्ति छ । यस्ता गतिविधि रोक्न चेतावनी दिन चाहान्छौं ।’

विद्यार्थीबाट उठाएको शुल्कको चरम दुरुपयोगगर्ने स्कुलमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकाट्टेल विद्यालय भवन उद्घाटन गर्ने आउने कार्यक्रम रहेको छ । उनको उपस्थितिले यस्ता जनबिरोधी र विद्यार्थीहरुको भावना विपरीत विद्यालयमा आएर भवनको उद्घाटन गर्नु विद्यालयले गरेको अनियममिततामा मुख्यमन्त्रीको पनि संलग्नता देखिने नेकपाले जनाएको छ ।

विद्यालयले भने आर्थिक अनियमितता नगरेको जनाएको छ । विद्यालयका प्रिन्सिपल टंक प्रसाद दाहालले स्कुल संचालन गर्न समस्या भएकाले अभिभावकको सहयोग लिएको बताए । ‘हामीले स्कुल संचालनमा समस्या भएपछि अभिभावकसँग सल्लाह गयौं ।’, उनले भने, ‘उहाँहरुले बोडिङ स्कुलमा ६०/७० हजार भन्दा धेरै शुल्क तिर्नभन्दा हामी ८/१० हजार तिर्न तयार छौं । भनेर निर्णय गर्नुभयो । त्यही निर्णय अनसार हामीले शुल्क लिएका हौं ।’

उनले विद्यालयमा आवश्यक दरबन्दी नभएकाले स्कुल संचालन गर्न समस्या भएको बताए । ‘हाम्रो विद्यालयमा २२ सय बढी विद्यार्थी छन् । ३२ वटामात्रै दरवन्दी छ ।’, उनले भने, ‘हामीले ५१ जना शिक्षक चाहिन्छ । तर नगरपालिका दरवन्दी दिन सकेको छैन् । तत्काल १० जना शिक्षकको व्यवस्था हुने हो भने हामी निशुल्क अध्ययन गराउन सक्छौं ।’

उनले अभिभावकलाई दिएका रसिद नक्कली नभएको बताए । ‘एक दिन विद्यालयमा अभिभावकको लाइन लामो भयो । उहाँहरुको सहजताका लागि हामीले छलफल गरेर भोलीपल्ट बिल काट्ने गरि रसिद दिएका थियौं ।’, उनले भने, ‘यो सामान्य विषय हो । यसमा केही तत्वहरुले विरोधका लागि विरोध गर्नुभएको हो ।’