रास्वपाको आशंका, शीर्ष नेताहरू बसेर शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्छ
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरू बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।
आइतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूले बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्न नहुने निष्कर्ष निकालेको पनि स्पष्ट पारेका हुन् ।
उनले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद् प्रभावकारी बनाउनुपर्ने बताए । उनले भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुशी हुने अवस्था नरहेको भन्दै सबै चनाखो भएर रहनुपर्ने अवस्था आएको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन आफ्नो पार्टी लागिपरेको बताए । बैठकमा पछिल्लो समय शीर्ष तीन दलका नेताहरूको बैठक बसिरहेको र त्यसले संसद्लाई बन्दी बनाउने अशंका उब्जाएको बताए ।
उनले बैठक बस्न मिल्ने तर संसदीय गतिविधिहरू संसदबाट नै हुनुपर्ने अडान रास्वपाको रहेको जिकिर गरे । उनले संसदबाट हुनुपर्ने काम कारबाही र निर्णय संसदबाट नै हुनुपर्ने बताए । प्रमुख सचेतक परियारले लोकतन्त्रलाई बलियो बनाउने र प्रभावकारी बनाउने हो भने सबै राजनीतिक पार्टीहरूलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने स्पष्ट पारे ।