शरणार्थी प्ररणमा को–को दोषी हुन् भन्नेबारे चाँडो छानबिन हुनुपर्छ?- आरजु राणा
काठमाडौं— कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले शरणार्थी प्ररणमा को–को दोषी हुन् भन्नेबारे चाँडो छानबिन हुनुपर्ने माग गरेकी छिन् ।
सांसद राणाले प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम निष्कर्ष आओस् भनेर आफू आतुर रहेको बताएकी छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘को दोषी हो, को होइन प्रष्टसँग आओस्’ भन्ने आफ्नो माग रहेको बताइन् । ‘त्यसको सत्यतथ्य चाँडै नै उजागर गर्न माग गर्दछु । यो केसको अन्तिम रिपोर्टका लागि म भन्दा आतुर कोही छैन,’ उनले भनिन् । उनी पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती पनि हुन् ।
आरजूले आफूलाई विदेश गएको भनेर लेखिएका समाचारप्रति पनि आपत्ति जनाएकी थिईन । ‘म उपस्थित भएको त देखिरहनु भएकै होला । म सशरीर नै यहाँ छु । म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्टा पुगिसकेको रहेछ । म सामाजिक संजालमा त्यति सक्रिय छैन । त्यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुन फेक मिडियामा सरकारको निगरानी हुनुपर्यो,’ उनले भनिन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो छानबिनका लागि प्रहरीमा बुझाएको तर ६ दिनसम्म पनि रिपोर्ट नआएको भन्दै राणाले आपत्ति जनाइन् । ‘मैले ६ दिनअगाडि फेक अडियो, भुटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएकोलाई फरेन्सिक परीक्षणका लागि सीबीआई र साइबर क्राइम सेलमा पठाएको थिए । त्यो दर्ता गर्न पनि मानिएको थिएन । यहाँहरूले पत्याउनु हुन्न होला, सत्तापक्षको यत्रो ठूलो नेताको श्रीमति भनेर तीन घण्टा लाग्यो त्यो दर्ता गराउन । त्यसको पनि जवाफ गृह मन्त्रालयबाट माग गर्न चाहन्छु,’ उनले भनिन्, ‘त्यो अलमल किन थियो? ६ दिन हुँदा पनि फेक हो कि होइन भनेर किन बताउन चाहेको छैन? म अरुजस्तै आतुर छु । मेरोमात्रै नाम उच्चारण किन हुन्छ?’