क्रान्तिलाई विजयमा पुर्याउन नसक्दा संकट देखियोः बाबुराम भट्टराई

सोमबार, १ जेष्ठ २०८०

काठमाडौं— नेपाल समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई क्रान्तिलाई विजयमा पुर्याउन नसक्दा संकट देखिएको बताएका छन् । विद्यार्थी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएका हुन् ।

‘देशमा बाहिय उपनिवेश छैन । राजामहाराजाको एकतन्त्रीय शासन पनि छैन । यो देशमा सापेक्षतामा लोकतन्त्र छ । जनजीवनको प्रश्न,सुशासनको प्रश्न प्रमुख बनेर आएका छन् त्यसअनुसार अगुवाले नीति तथा कार्यक्रम तय गर्ने, जनतालाई साथमा लिएर अघि बढ्नुपर्छ’ भट्टराईले भने, ‘२००७ सालदेखि २०६२÷०६३ को जनआन्दोलनसम्म आउँदा लोकतन्त्रको लडाई पुरा गर्‍यौँ । हामीले पूर्ण विजयमा पुर्‍याएको होइन । हामीले गरेको क्रान्ति हलाल क्रान्ति थियो छिनाल क्रान्ति थिएन । त्यसैले, कतिपय यथास्थितिवादी र पश्चगामी शक्तिहरुसँग सम्झौता गर्न बाध्य भयौं ।’

वैज्ञानिक भूमिसुधार गरी सबै जनताको पहुँचमा जमिन समेत पुर्याउन नसकेको भट्टराई स्वीकार गरे । ‘जनताको सामाजिक सुरक्षा सबैको अधिकार सुनिश्चित गर्नुपर्ने थियो । देशमा रोजगारी सृजना गर्नुपर्ने थियो । यी सबै कुरा स्थापित गरेर जनतामा जान सकेनौं’ भट्टराईले भने, ‘हामीले समायानुकुल परिवर्तन गर्न नसकेमा सकिन्छौं । आफूलाई समय अनुकूल परिवर्तन गर्नुपर्छ ।’ उनले आफूलाई कम्युनिस्ट भन्नेहरुले आचरणमा समेत देखिनुपर्ने जिकिर गरे ।