मेलम्चीको सुरुङ १० दिन बन्द हुने, यस्तो छ खास कारण
काठमाडौं – आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाको मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो।
काठमाडौं उपत्यका खानेपानीका प्रवक्ता प्रकाशकुमार राईले मेलम्ची खानेपानी विकास समितिले आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायत संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न लागेकाले सुरुङ बन्द गर्न लागेको बताए।
उनले वर्षा याममा हुनसक्ने सम्भवित प्रकृतिक प्रकोप कारण आयोजनामा थप क्षति हुन नदिन विषम परिस्थिति बाहेक १२ महिना पानी सञ्चालन गर्ने उद्देश्यले मेलम्ची खानेपानी विकास समितिको रहेको बताए।
उनले उक्त कार्य सम्पन्न भएपश्चात यो वर्षको वर्षा याममा पनि आयोजनाको प्रतिकुल अवस्थामा बाहेक अन्य अवस्थामा सुरुङबाट पानी पठाउने कुरामा आशावादी रहेको बताए। उनले सुरुङबाट पानी पथान्तरण बन्द हुने भएसँगै काठमाडौं उपत्यका खानेपानी वितरणको तालिका पानी वितरणको दिन अवधिको अन्तर बढाएर हेरफेर गरिएको बताए।
उनले खानेपानी वितरणको तालिका काठमाडौं उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयहरुको फेसबुक पेजमार्फत प्रकाशन गरिएको बताए। २०७९ साल मंसिरदेखि आजसम्म मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको निरन्तर पानी आपूर्तिले काठमाडौंबासीको मुहारमा देखिएको सन्तुष्टि र खुशीलाई दिगो र बाह्रै महिना कायम राख्ने प्रयास रहने बताए।