नाउपाका नेतालाई छलफलका लागि कारागारमै बोलाए चौधरीले
काठमाडौं— सर्वोच्च अदालतको फैसलापछि रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई छलफलका लागि कारागारमा बोलाएका छन् ।
नाउपका उपाध्यक्ष लक्ष्मण किशोर चौधरीले केन्द्रीय समिति र काठमाडौं पायक पर्ने नेताहरूलाई १० बजे कारागारमा छलफलमा बोलाइएको बताएका हुन् । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल हुने उनले जानकारी दिए । नाउपा अहिले सरकारको एक घटक हो । रेशमकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता स्वयम् मन्त्रीले भने फैसलाप्रति कुनै प्रतिक्रिया दिएकी छैनन् । आजको बैठकमा नाउपाले सरकार छाड्ने वा नछाड्ने भन्ने पनि छलफल हुनेछ । रेशमलाई जेलबाट निकाल्ने आश्वासनका आधारमा नाउपा सरकारमा सहभागी भएको थियो ।