सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने मात्र ध्याउन्न भयो: माधव नेपाल
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले कांग्रेस र कम्युनिस्टहरुबीच भ्रष्टाचारमा कडा प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेका छन्।
मदन–आश्रित स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले हिले कांग्रेस र कम्युनिस्टहरुबीच भ्रष्टाचारमा कडा प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेका हुन्। नेपालले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृति हाबी रहेको बताए । उनले भने, ‘नेपाल भ्रष्टाचरमा चुर्लुम्म डुबेको छ। के कम्युनिस्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा कडा प्रतिस्पर्धा भइरहेको छ।’
अहिले कुनै दर्शनले काम नगरेको उल्लेख गर्दै नेपालले ‘पैसा कमाउँ’ भन्ने एउटै दर्शन भएको टिप्पणी गरे। ‘त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन, एउटै दर्शन छ पैसा कमाउँ, जनतालाई लुट, एउटै प्रवृत्ति व्याप्त छ, त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ?’ नेपालले भने।
नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको आरोप लगाए। एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले नेता तथा कार्यकर्ताहरुलाई नेपालले सुझाव दिए।
एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको नेपालको आरोप छ। नेकपा एमाले जबजबाट विचलित भएको आरोप समेत नेपालले लगाए।