लुम्बिनी प्रदेशका सभामुख घर्तीको गाडी सिक्ने क्रममा भयो दुर्घटना

बुधबार, ३ जेष्ठ २०८०

काठमाडौं— लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ।

सभामुखको बुटवलस्थित निवासका एक कर्मचारीले सभामुख आफैंले सिक्ने क्रममा दुर्घटनामा परेको बताए। बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप दुर्घटनामा परेको हो। गाडी बुटवलकै एक ग्यारेजमा लुकाएर मर्मत गरिएको छ। सभामुख निवास परिसरमै पाँच दिन पहिले भएको उक्त घटना सभामुखको सचिवालय र प्रहरीले समेत गुपचुप राखेको थियो।

सभामुखको सचिवालयका एक कर्मचारीका अनुसार सभामुख आफैंले सिक्ने क्रममा निवासको कम्पाउण्डको पर्खालमा ठोक्किएको थियो। ‘सरले आफैंले सिक्नुभएको थियो अचानक नियन्त्रण गर्न सक्नु भएन, पर्खालमा ठोक्किँदा गाडीको अगाडिको शिशा फुटेको छ। निवासको पर्खाल पनि केही भत्किएको छ,’ ती कर्मचारीले भने। गाडीको बाहिरी भागमा ठूलो क्षति नदेखिएको भए पनि भित्र ठूलो क्षति भएको मर्मतमा संलग्न एक मेकानिक्सले बताए।

दुर्घटनामा परेपछि उक्त जिपलाई सुटुक्क बुटवलको मैनाबगरस्थित महेन्द्रा कम्पनीको ग्यारेजमा मर्मतका लागि लगिएको थियो। प्रदेश सभा सचिवालयका प्राविधिक सुरज ढकालले अहिले उक्त जिपलाई त्यहाँबाट पनि बुटवलकै बेलवासमा रहेको भैरव अटोवर्कसपमा लगिएको बताए। यसअघि पनि गत वैशाख १ गते सभामुखको सचिवालयका एक कर्मचारीले सिक्दै गर्दा लु १ झ ४४७ नम्बरको टाटा स्ट्रोम जिप दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा विद्युतको पोल ढल्नुका साथै स्थानीय डिल्लीराज अर्यालको घरमा क्षति पुगेको थियो। घरधनी अर्यालले घरमर्मतका लागि २० लाख रुपैयाँ दाबी गरेपछि विवाद उत्पन्न भएको थियो। सोही विवादका कारण हालसम्म पनि उक्त गाडी मर्मत हुन सकेको छैन। गाडीलाई वडा प्रहरी कार्यालय बुटवल रामनगरमा राखिएको ढकालले बताए।