शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र इन्द्रजित राई मुख्य अभियुक्त भएको प्रहरीको निष्कर्ष
काठमाडौं— नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको प्रकरणमा तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजित राई मुख्य अभियुक्त भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
अनुसन्धान अधिकृतहरुको अनुसार रायमाझीले तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राईसँग मिलेर शरणार्थी बनाउने नाममा असुली गर्ने चलखेलको योजना बनाएका हुन् । सरकारले ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै कार्यदल गठन गर्नु अघिबाटै रकम उठाउन सुरु भएको अनुसन्धान अधिकृतहरु बताउँछन् । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गरिदिन माग गर्दै भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले पटक–पटक मन्त्रालयमा निवेदन दिँदै आएका थिए ।
झापा र मोरङमा बाँकी रहेका ६ हजार ५७७ जना शरणार्थीको हकमा एउटा निर्णय गर्नु जरुरी भएको निष्कर्षसहित अध्ययन कार्यदल गठन गर्ने तयारी भएको अधिकारीहरु बताउँछन् । ‘झट्ट हेर्दा कार्यदल गठनको उद्देश्य गलत देखिँदैन, तर कार्यदल बन्नुभन्दा अघिबाटै रकम उठाउने चलखेल सुरु भएको देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘अध्ययन सुरु हुने भन्नेवित्तिकै त्यसमा थपेर गैरशरणार्थीलाई तेस्रो मुलुक पठाउन सकिन्छ भन्ने रायमाझी र राईहरुलाई परेको देखिन्छ ।’