मोटिभेट समाचार प्रभाव : नक्कली बैंक स्टेटमेन्ट बनाउने कन्सल्टेन्सीमा प्रहरीको छापा, ३ जना पक्राउ
काठमाडौं – नक्कली बैंक स्टेटमेन्ट बनाउने कन्सल्टेन्सीमा प्रहरीको छापा हानेको छ । काठमाडौंको डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा हानेर सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको छ।
कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउन आवश्यक बैंक स्टेटमेन्टसमेत नक्कली बनाउने गरेको सूचनाका आधारमा कन्सल्टेन्सीमाथि छापा हानेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए । प्रारम्भिक अनुसन्धानबाट नक्कली डकुमेन्ट बनाएको प्रमाणित भएको उनको भनाई छ ।
पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक माधव पौडेल सहित ३ जना छन् । कन्सल्टेन्सीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विदेश अध्ययन अनुमति शाखाको छाप र लेटरप्याड भेटिएको छ । आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि मोटिभेट न्यूजले ‘नक्कली बैंक स्टेटमेन्टका कारण ह्वात्तै बढ्यो अस्ट्रेलियाको भिसा रिजेक्सन’ र ‘अध्ययनका लागि अमेरिका पठाउने कन्सल्टेन्सीले बनाउँछन् नक्कली सर्टिफिकेट‘ शिर्षकमा समाचार लेखेको थियो । यही समाचारका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरीले छापा हानेको हो ।