लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. बुद्धबहादुर थापा क्षेत्री नियुक्त
काठमाडौं— लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. बुद्धबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं ९ निवासी डा. थापा वरिष्ठ अधिवक्ता हुन् । नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्ष बनिसकेका थापाले लामो समय बुटवल बहुमुखी क्याम्पसमा राजनीति शास्त्र अध्यापन गरेका थिए । कानूनमा स्नातक, राजनीतिशास्त्रमा पिएचडी गरेका थापाले रेसुंगा बहुमुखी क्याम्पस गुल्मीबाट अध्यापन सेवा सुरु गरेका हुन् ।
गुल्मीको मुसिकोट नगरपालिकाको पौदीअमराईबाट बुटवल ९ मा बसाई सरेका थापा अहिले कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् । पार्टी संस्थापन समूहमा रहेका थापालाई संस्थापन समूहबाटै मुख्यमन्त्री बनेका मुख्यमन्त्री चौधरीले अवसर दिएका हुन् । थापालाई आजै शपथ ग्रहण गराउने कार्यक्रम छ ।