सांसदहरूको उपस्थिति हेर्दै डिपी अर्यालले भने, संसदमा बोल्नु रेकर्डको लागि मात्रै

सोमबार, ८ जेष्ठ २०८०

काठमाडौंं— राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले छलफलमा सहभागी सांसदहरूको उपस्थितिलाई हेरेर संसदमा बोल्नु रेकर्डको लागि मात्रै भएजस्तो भइरहेको टिप्पणी गरेका छन् । उनले छलफलमा सबै सांसद उपस्थित हुने वातावरण बनाउन सभामुखसमक्ष माग पनि गरे ।

अर्यालले प्रतिनिधिसभामा छलफलको क्रममा नीति तथा कार्यक्रम कामै नलाग्ने, खारेजै गर्नुपर्छ भन्नु उपयुक्त नहुने बताए । तर, उनले छलफलमा सहभागी सांसदहरूको उपस्थितिलाई हेरेर संसदमा बोल्नु रेकर्डको लागि मात्रै भएजस्तो भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न उपस्थित भएको छु । तर, सदनको खाली कुर्सी हेर्दा आफू पनि रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरेको जस्तो लाग्छ । घरमै बसेर ऐनामा हेरेर पेन्ड्राइभमा रेकर्ड गरेर सचिवालयमा बुझाइदिए हुने हो कि भन्नेजस्तो लाग्छ । २७५ जनाबीच हुने र सुन्ने र सुनाउने नीति तथा कार्यक्रमको छलफल रेकर्डको लागि मात्रै बोलिरहेको जस्तो लाग्छ ।’