शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माओवादी निकट विद्यार्थी सङ्गठनको माग

सोमबार, ८ जेष्ठ २०८०

काठमाडौं— नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

सोमवार माइतीघर मण्डलामा विरोध कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रहरीले दोषी करार गरेको भए पनि अहिलेसम्म १६ जना भन्दा अरूलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाए । उनले तत्कालीन सरकारको नेतृत्व गरेका काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुसन्धानको दायरामा ल्याउन माग गरे । उनले यस प्रकरणमा मुछिएका ठुला नेताहरू डा। आरजु राणा देउवा र मञ्जु खाणलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गर्न पनि सरकारकारसँग माग गरे ।

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रहरीले दोषी करार गरेको छ । तर अहिलेसम्म १६ जना मात्रै गिरफ्तार भएका छन्, पूर्व गृहमन्त्रीदेखि पूर्व उर्जामन्त्रीदेखि,सचिवहरूलाई पक्राउ गरी अनुसन्धानमा राखिएको छ । तर यो सरकार यो सङ्कटको समाधान गर्न गम्भीर देखिँदैन । यहाँ अरू पनि दोषी ठहरिन्छन् , उनीहरूलाई कारबाही गरियोस् । आरजु राणा देउवा र मञ्जु खाँणलाई प्रहरीले तत्काल गिरफ्तार गरोस् ।’

प्रदर्शनमा उत्रिएका विद्यार्थी सङ्गठनकर्मीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, मानव तस्कर गर्ने अपराधीहरूलाई तत्काल कारबाही गर्, दलाल संसदीय व्यवस्था मुर्दावाद लगायतका नारा र प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।