नक्कली शरणार्थी प्रकरण राज्यविरुद्धको कसुर, ठगी र सङ्गठित अपराध भएको प्रहरीको दाबी
काठमाडौं – नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई राज्यविरुद्धको कसुर, ठगी र सङ्गठित अपराध रहेको दाबीसहित प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
सोमबार बुझाइएको प्रतिवेदनमा १६ जना पक्राउ परेका र यो प्रकरणमा संलग्न १४ जना फरार अभियुक्तहरूको नामसहित शरणार्थी ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई राज्यविरुद्धको कसुर, ठगी र सङ्गठित अपराध रहेको दाबीसहित प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न १४ जना फरार रहेको जानकारी दिए ।
प्रहरीले पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि सुरक्षा सल्लाहकारसम्म गरी १६ जनालाई पक्राउ गरी अनुसन्धानपछि यो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा थप अनुसन्धान गर्नका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानका लागि सिफारिस गरिएको छ ।
अपराध संहिता २०७४ दफा ५१ मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने उल्लेख छ । साथै कसैले राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु वा गराउनु हुँदैन स्पष्ट व्यवस्था गरिएको छ ।