लुम्बिनीमा माओवादीको किचलोका कारण मन्त्रिमण्डलले पाएन पूर्णता

सोमबार, ८ जेष्ठ २०८०

काठमाडौँ – लुम्बिनी प्रदेशमा माओवादी केन्द्र भित्रको किचलोका कारण मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको बुझिएको छ।  मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार गठन भएको झण्डै एक महिनापछि मन्त्रिपरिषद् विस्तार गर्दापनी माओवादी केन्द्र भित्रको किचलोका कारण मन्त्रिमण्डलले अझै पूर्णता पाउन नसकेको बुझिएको  हो ।

गत वैशाख १४ गते मुख्यमन्त्रीको शपथ ग्रहणसँगै चौधरीले तीन जना बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए। सोमबार यसअघि नियुक्त गरिएका तीन मन्त्रीलाई  जिम्मेवारीसहित थप तीन जना मन्त्री नियुक्त गरेका हुन्। मन्त्रिमण्डल विस्तारसँगै यसअघि जिम्मेवारी नतोकिएका मन्त्रीहरूको पनि जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालय, लोकतान्त्रिक समाजवादीका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका छन्।

त्यस्तै, नेपाली कांग्रेसबाट प्रदेश उपसभापति राजु खनाल, जसपाबाट भण्डारीलाल अहिर र जनमतबाट चन्द्रकेश गुप्ता मन्त्री नियुक्त भएका छन्। खनाल स्वास्थ्य मन्त्री, अहिर कृषि मन्त्री र गुप्तालाई सामाजिक विकासमन्त्री नियुक्त गरिएको हो।

मन्त्रालय भागबन्डामा असहमति जनाउँदै आएको नेकपा माओवादी केन्द्रबाट भने सोमबार विस्तार गरिएको मन्त्रिपरिषदमा समेटिएनन्। यसअघि माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र रोल्पाका दीपेन्द्र पुनलाई मन्त्री बनाउन सिफारिस गरिएको थियो।

माओवादी केन्द्रले यसअघि लिला गिरी नेतृत्वको सरकारमा तीन मन्त्रालय पाएको र अहिले पनि तीनै मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रलाई ३ र अन्य ६ दलका लागि ४ मन्त्रालय दिने गरी नेपाली कांग्रेस र माओवादी केन्द्रबीच यसअघि नै सहमति भइसकेको थियो।

तर आफूले चाहेको मन्त्रालय नपाएपछि तत्काल मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र स्रोत बताउछ ।