कमिसन र भ्रष्टाचारको जालो नतोड्दासम्म समृद्धिको यात्रा तय गर्न सकिन्नः गृहमन्त्री
काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो नतोड्दासम्म समृद्धिको यात्रा तय गर्न नसक्ने बताएका छन् ।
नेकपा एमालेनिकट युवा संघको टोली मन्त्रालय पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । अपुरो र अधुरो अनुसन्धान गरिएको साथै निर्दोष फसाउन खोजिएको भन्दै युवा संघले गृहमन्त्रीको ध्यानाकर्षण गरायो ।
श्रेष्ठले राजनीतिक परिवर्तनपछि पनि भ्रष्टाचारकै कारणले समृद्धिको दिशामा फड्को मार्न नसकेको बताए । उनले नक्कली शरणार्थी प्रकणमा प्रहरीले बयानमात्रै नभई तथ्य प्रमाणको आधारमा अगाडि बढाइरहेको बताए । गृहमन्त्री श्रेष्ठले भने, ‘एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा प्रहरी छ । कसैले भन्दिएको भरमा प्रहरीलाई बुझाउने पनि मिल्दैन होला । कोही मुछ्न जियो या कोही आउनुपर्ने पनि आएनन् भन्ने पनि छ । निष्पक्ष ढंगले प्रहरीले अगाडि बढाइरहेको छ ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष रूपमा काम गर्न आफूलाई सहयोग गर्ने बचन दिइरहेको बताए ।