नगरपालिकाको कार्यालय भित्रै स्वास्थ्याकर्मीको धर्ना, ११ महिनादेखि पाएनन् सरकारी कर्मचारीले तलव
कालिकोट – जिल्लाको रास्कोट नगरपालिकाका स्वास्थ्याकर्मीहरु परिश्रमिक नपाएको भन्दै आन्दोलित भएका छन् । सरकारले एक बर्षदेखि काममा खटाएर तलब सुविधा नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरुले बिहीबारदेखि पालिकाको सभाहलमा धर्ना दिएर आन्दोलनको सुरुवात गरेका छन् । ११ महिनादेखि तलब नपाएर बिरामीको उपचार गरिरहेका उनीहरुले तीन वटा माग राखेर धर्ना दिएका हुन् । उनीहरुले ११ महिनादेखिको तलव पाउनुपर्ने, आधारभूत स्वास्थ्य केन्द्रहरुमा दरबन्दी सृजना गर्नुपर्ने र आगामी आर्थिक बर्षका लागि बजेट सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।
नगरपालिकाले आफ्ना कार्यकर्ता भर्ति गर्नका लागि आफूहरुको माग सम्बोधन गर्न तत्परता नदेखाएको स्वास्थ्यकर्मीहरुको भनाई छ । ‘नगरपालिकाले चाहेको खण्डमा हाम्रा मागहरु सजिलै सम्बोधन गर्नसक्छ । अहिले पनि फूकोट स्वस्थ्य चौकीमा, सिपखाना स्वास्थ्य चौकी र नगरपालिकाको स्वास्थ्य शाखामा गरी तीन दरबन्दी खाली छन् । ६ वटा आधारभूत स्वास्थ्य केन्द्रहरुमा र ६ जना रास्कोट अस्पतालमा सेट गर्न सकिन्छ । तर नगर सरकारले यतातिर चासो देखाएको छैन ।’ विकल्प आधाभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेव कृष्णप्रसाद बरालले भने, ‘करारमा आफ्नो कार्यकर्ता भर्ति गर्नका लागि नगरपालिकाले हाम्रो माग सम्बोधन गर्ने तत्परता देखाएको छैन् । यो आफ्ना कार्यकर्ता भर्ति गर्ने षड्यन्त्रको रुपमा हामीले बुझेका छौं ।’
यता नगरपालिकाले श्रोत अभावका कारण तलव खुवाउन नसकेको जनाएको छ । नगरपालिकाका उपप्रमुख मनिरान बरालले स्वास्थ्य मन्त्रालयले श्रोतको व्यवस्था नगरिदिदा स्वास्थ्यकर्मीलाई तलव खुवाउन समस्या भएको बताए । ‘हामीले उहाँहरुको माग सम्बोधन गर्नका लागि पहल गरिरहेका छौं । नगरपालिकासँग श्रोत छैन् । श्रोत सुनिश्चितताका लागि हामीले मन्त्रालयलाई झक्झक्याइरहेका छौं ।’, कार्यबहाक मेयरसमेत रहेको उनले भने, ‘मन्त्रालयले हुन्छ भनेको छ तर काम भएको छैन् । हामी मन्त्रालयप्रति आशावादी भएर बसेका छौं ।’
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हंशराज बरालले उहाँहरुको मागहरु सम्बोधन गर्न नगरपालिका लागि परेको बताए । ‘उहाँहरुमध्ये धेरै जना फाजिलमा परेका साथीहरु हुनुहुन्छ । केही पछि सरुवा लिएर समेत आउनु भयो । हाम्रोमा भएको दरबन्दी अनुसार अहिले एउटा मात्र खाली छ । त्यहाँ १५ जनामध्ये कसलाई पठाउने ?’, उनले भने, ‘नगरपालिकाले कसैगरी पनि मिलाउन सक्दैन । हामीले मन्त्रालयलाई लेखि पठाएका छौं । मन्त्रालयले काम गरिरहेको होला ।’
यता मन्त्रालयले भने स्वास्थ्यकर्मीको तलब सुनिश्चितताका लागि निर्णय गरेर अर्थमन्त्रालयमा पठाएको जनाएको छ ।