प्रधानमन्त्रीले भारत भ्रमणबारे राजनीतिक परामर्श लिंदै

आइतबार, १४ जेष्ठ २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबारे आज राजनीतिक परामर्श लिनेछन्।

उनको सचिवालयको अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नेछन्। उनीहरूलाई दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको छ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आजै पूर्वपराराष्ट्र सचिव, भारतका लागि पूर्वराजदूत र विज्ञहरूसँग पनि परामर्श गर्दैछन्। परामर्श दिउँसो साढे तीन बजेका लागि तय भएको छ। प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको तालिका सार्वजनिक गरिएको थियो। शनिबार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन्।

यस भ्रणमा नेपाल र भारतका कम्पनीबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहलगायतका विषयमा समझदारी गर्ने तयारी रहेको बताइएको छ। यद्यपि भ्रमणको एजेन्डा र टोली सदस्यको टुंगो लाग्न भने बाँकी रहेको बताइएको छ। यसबारे परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।