नेपालमा जति छाडा र विकृति अहिले दुनियाँका कुनै देशमा छैनः ओली

बुधबार, १७ जेष्ठ २०८०

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा जति छाडा र विकृति अहिले दुनियाँका कुनै देशमा नभएको कुरा बताएका हुन् । ओलीले बुधबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै फोटोमा सुनैसुन लगाएको बनाएर सामाजिक सञ्जालमा आएकोमा कटाक्ष गर्दै यस्तो बताएका हुन् ।

‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका बोकी नसक्नु! त्यति सुन म बोक्न पनि सक्दिनँ होला । मैले जिन्दगीमा आमाले सानैमा दिएको औंठी चार दिनजति लगाएँ,’ओलीले भने, ‘आमाले दिएको त्यो औँठी लाएपछि आमा पटक पटक सम्झने र हडबड भएपछि तीन चार दिनपनि लगाउन सकिनँ । पछि त्यसबाहेक एउटा साथीले दिएको एकदिन जति लगाएँ । यति साहे झुट, यत्रो मेहनत गरेर कस्तो घटिया नियत होला?’

‘नेपालमा छाडापन र विकृति बढ्दो छ। हाम्रो देश विचित्रको स्थितिमा पुगेको छ । दुनियाँमा छाडापन हेर्नपर्छ भने यहीँ देशमा देखिन्छ । नेपालमा जति छाडा र विकृति अहिले दुनियाँका कुनै देशमा छैन कि जस्तो लाग्छ’, अध्यक्ष ओलीले भने, ‘युट्युब खोलेर हेरिसक्नु छैन । खोल्यो भने कुनामा गएर हेर्नुपर्ने हुन्छ ।’ उनले सभ्यताको सुरुवात भएको नेपाल धर्तीमा विकृति थुपारेर नेपालको संस्कृतिमाथि नै प्रहार भएको बताए । कलाकार जीवन थापा लगायतका ७० भन्दा बढी कलाकर्मीहरु एमाले प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष ओलीले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।