नयाँ प्रतिनिधिसभा आइसकेपछि पुरानै संसदले पठाएको विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान हो: एमाले

शुक्रबार, १९ जेष्ठ २०८०

काठमाडौं – नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति आपत्ति जनाएको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले संघीय संसदको निर्णय र संसदका सभामुख वा अध्यक्षको सिफारिसमा मात्रै कानून बन्ने व्यवस्था रहेको बताए ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रमाणीकरण गरिएको भन्ने राष्ट्रपति कार्यालयको वक्तव्य संविधान, प्रचलित कानून र संसदीय मान्यताविपरीत भएको उनले बताए ।

नेता ज्ञवालीले नयाँ प्रतिनिधिसभा आइसकेपछि पुरानै संसदले पठाएको विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको उल्लेख गरे ।

संविधानविरोधी कदमको पार्टीले विरोध गर्ने उनको भनाइ छ ।