बजेटमा हावादारी रुपमा अंक राखिएको छ जनताले पत्याउने खालको बजेट छैन: स्वर्णिम वाग्ले
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा: स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको लागि आएको बजेट जनताले पत्याउने खालको नरहेको बताएका छन् ।
अर्थशास्त्री तथा सांसदमा स्वर्णिम वाग्लेले बजेटमा कतिपय अवस्थामा हावादारी रुपमा अंक राखेको भन्दै त्यस्तो बजेट जनताले नपत्याउने टिप्पणी गरेका हुन् । उनले समयानुकूल नहुँदा पनि अर्थमन्त्रीहरू बजेटको आकार बढाउन प्रतिस्पर्धा गरिरहेको बताए ।
डा: युवराज खतिवडाको पालामा समय अनुकुल रहेपनी ११ खर्ब १० अर्ब खर्च भएको थियो’, उनले भने, ‘खर्च गर्न नसकिने अवस्था समेत बजेटको आकार बढाउन प्रतिस्पर्धा देखियो।’हामी पनि बजेटको आकार हेरेर हौसिएको वाग्लेको भनाइ छ।
वाग्लेले बजेट खर्च नहुने र बजेटमा राखिएको लक्ष्य पूरा नहुने विषयले बजेट माथिको विश्वसनीयता घट्दै गएको बताए।
‘बजेट खर्च नहुने र बजेटमा राखिएको लक्ष्य पूरा नहुने कुराले बजेट माथिको विश्वसनीयता घट्दै गएको छ,’ वाग्लेले भने, ‘यो क्रम रोकिन जरुरी छ। यस्तो प्रवृत्ति जारी रहे समग्र राज्यमाथिको विश्वसनीयता कम हुँदै जान्छ।’
वाग्लेले बजेट बढाउने विषयमा हौसिनेक्रम अन्त्य हुन जरुरी रहेको बताए। कोरोना महामारी, भुकम्प पुनर्निर्माण र संघीयताको चापले बिचमा बजेट बढेको भए पनि यसलाई कम गर्न आवश्यक छ,’ वाग्लेले भने, छयसपालिको १७ खर्ब ५१ अर्बको बजेट पनि त्यति विश्वसनीय छैन। अब अर्थतन्त्रको कोर्स करेक्सनमा जानुपर्ने देखिन्छ।’
उनले अर्थतन्त्र र बजेटको सन्दर्भमा नयाँ सिराबाट सुधारको आवश्यक रहेको बताए। यसो नभएसम्म अर्थतन्त्र सुधार नहुने उनको भनाइ छ।