कोशी प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरिने
काठमाडौं— कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ।
मंगलबार (आज) दिउँसो बस्ने पार्टी प्रदेशका पदाधिकारी र दलको सयुक्त बैठकबाट माओवादीले औपचारिक निर्णय गर्दैछ। ‘हामी आज सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्दैछौं,’ माओवादीका एक नेताले भने ‘अब दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गरी तयारी गर्नेछौं।
ती नेताका अनुसार प्रदेशमा सत्तामै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी मिलाउने ग्यारेन्टी नेता आङ्बोले गरेका छन्। राप्रपा सामेल हुने भएपछि नै आफूहरू सरकार छाड्ने निर्णयमा पुगेको ती नेताको दाबी छ। यसअघि सोमबार विराटनगरमा बसेको प्रदेश ससदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा नया सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि माओवादी सरकारबाट बाहिरिने निश्चित भएको थियो।
बैठकले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि माओवादीले यसबारे मुख खोलेको थिएन। माओवादीको यो निर्णयसँगै नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ।
सत्ता साझेदार माओवादीले साथ छाडेपछि अब मुख्यमन्त्री कार्कीसँग एमालेका ४० र राप्रपाका छ जना गरी ४६ जना मात्रै सासद रहेका छन्। सभामुखसहित १३ सिट भएको माओवादीले साथ छाडेपछि एमाले नेतृत्वमा बँचेको एक मात्र प्रदेश सरकार संकटमा परेको हो।