विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत भारत निर्यात
काठमाडौैं— नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको कुरा बताएका छन् । उनले अब नेपालमा मनसुन प्रवेश गरेकाले असार महिनाभर नै विद्युत निर्यात गर्न सकिने अनुमान गरिएको बताए । असारपछि मंसिरसम्म त झन् ठूलो मात्रामा विद्युत निर्यात गर्नुपर्ने प्रक्षेपण छ ।
नदीहरुमा पानीको सतह बढेको छ, अब निर्यात नियमित हुन्छ,’ प्रवक्ता भट्टराईले भने, ‘दैनिक ७–८ हजार मेगावाटआवर बिजुली निर्यात हुन थालेको छ ।’ प्राधिकरणले औसत प्रतियुनिट भारु ५।२४ अर्थात् ८ रुपैयाँ ३८ पैसामा भारतलाई बिजुली बेचिरहेको छ । भारतबाट केही समयका लागि माग व्यवस्थापन गर्न दैनक १ हजार मेगावाट आवर मात्रै बिजुली आयात भइरहेको छ ।
नेपालमा खपत हुन नसकेको बिजुली प्राधिकरणले भारतको ऊर्जा एक्सचेञ्ज बजारको ‘डे अहेड’ मार्केटमा बेचिरहेको छ । बेच्न सकिने बिजुली अघिल्लो दिन नै भारतीय ऊर्जा बजारको प्रणालीमा बोलकबोलका लागि राख्ने र सो अवधिमा प्रणालीले माग र आपूर्तिका आधारमा निर्धारण भएको दरमा बेच्ने गरिएको छ । आईएक्समा २४ घण्टालाई १५र१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।
पछिल्ला दिनमा प्राधिकरणको प्रणलीमा समेत लोड बढेको छ । तराई क्षेत्रमा भएको गर्मीले पङ्खा र एसी धेरै चलेपछि प्रणालीमा १ हजार ९ सय मेगावाटसम्म ‘पिक लोड’ आइरहेको छ । यसले देशभित्रै पनि विद्युत खपत बढ्दै गएको देखाएको छ । तर, खपत हुन नसकेको बिजुली भारतमा नबेची प्राधिकरणलाई सुख छैन । भारतले ४ सय ५२ मेगावाट बारबरको बिजुली निर्यात गर्न अनुमति दिएको छ । प्राधिकरणले ४५६ मेगावाट बराबरको माथिल्लो तामाकोशी जलविद्युत आयोजनासहित थप १२ सय मेगावाटको बिजुली निर्यात अनुमतिका लागि भारतसँग प्रस्ताव गरेको छ ।
प्राधिकरणले चालु आर्थिक वर्ष २०७९र८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने प्रक्षेपण गरेको थियो । आयातभन्दा निर्यातको मात्रा धेरै भए त्यसलाई ‘नेट एक्सपोर्ट’ भनिन्छ । यसवर्ष हिउँदमा राम्रो हिमपात नभएको र वर्षा समेत धेरै नभएर खडेरी परेका कारण विद्युतको उत्पादन ३० प्रतिशतसम्म घट्दा सो प्रक्षेपणमा धक्का लागेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । असारमा हुने निर्यातको परिमाणले सबै कुरा स्पष्ट गर्ने उनको भनाइ छ । ‘सामान्य अवस्थामा रहेको भए यो वर्ष भारतबाट हामीले ल्याउने बिजुलीको परिमाण खासै बढ्ने थिएन, नेपाल सुख्खाग्रस्त भएपछि यो वर्ष गतवर्षको तुलनामा धेरै बिजुली आयात गर्नुपर्यो,’ घिसिङ भन्छन्, ‘यो वर्ष हुन सकेनौं भने पनि आगामी वर्ष हामी नेट एक्सपोर्टर हुने लक्ष्यमा छौं ।’