पुँजी पलायनको धन्दा चलाउँदै फेकनका महासचिव निरौला

मंगलबार, ५ असार २०८०

काठमाडौं – शैक्षिक परामर्श क्षेत्रको दोश्रो ठूलो संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का महासचिव राजु निरौला पुँजी पलायन गर्ने धन्दामा लागेको पाइएको छ । नेपालबाट अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीको अवैध बाटोबाट स्वास्थ्य बीमाको पोलिसी किनेर उनले नेपालको पुँजी पलायनको धन्दा चलाएका हुन् ।

अस्ट्रेलियामा विद्यार्थीको स्वास्थ्य बीमा गर्ने थुप्रै संस्थाहरुमध्ये एक हो एलायन्स इन्स्योरेन्स । निरौलाले विद्यार्थीबाट स्वास्थ्य बीमा बापतको पैसा लिएर कमिसनको लोभमा ह्याकरको समूहलाई बुझाएर पुँजी पलायन गरेका थिए । ह्याकरको समूहले अमेरिकाको एउटा बैंकको क्रेडिट कार्ड ह्याकगरी एलायन्स इन्स्योरेन्सको बीमा पोलिसी खरिद गरेको थियो । ह्याकरको यही अबैध भन्दामा निरौला पनि जोडिन पुगेका थिए । उनी पनि ह्याकरको समूहमै रहेको व्यवसायीहरुले बताएका छन् ।

पछि विद्यार्थीको बीमा बापतको रकम अमेरिकाको बैंकले अवैध बाटोबाट भुक्तानी भएको भन्दै फिर्ता लिएको थियो । बीमा पोलिसी फिर्ता भएपछि अस्ट्रेलियामा विद्यार्थीको विचल्ली भएको थियो । विद्यार्थीको बीमा पोलिसी फेल भएको थियो । अहिलेसम्म पनि धेरै विद्यार्थीको बीमा पोलिसी नविकरण भइसकेको छैन । तर निरौलाले आफ्नो विद्यार्थीको बीमा बापतको रकम भुक्तानी गरेर बीमा पोलिसी नविकरण गरिसकेको बुझिएको छ । ह्याकरको समूहले निरौलालाई २५ प्रतिशतसम्म कमिसन दिएको उनी निकटका एक व्यवसायीले बताए ।

‘ह्याकरको समूह म कहाँ पनि आएको थियो । मैले उनीहरुको विश्वास गरिन । उहाँहरुले विद्यार्थीबाट क्यास उठाएर २५ प्रतिशत राखेर बाँकी ह्याकरको समूहलाई दिनु भएको हो ।’, नाम उल्लेख नगर्ने सर्तमा ति व्यवसायीले भने, ‘त्यही २५ प्रतिशतले उहाँ कतिबेला प्रहरीले पक्राउ गर्ने हो, भनेर तनावमा हुनुहुन्छ ।’ फेकनको महासचिव भएको भन्दै उनले २५ प्रतिशतसम्म कमिसन लिएको उनको भनाई छ । ‘उहाँले आफू अरु व्यवसायीलाई पनि चिनाइदिने सर्तमा २५ प्रतिशत कमिसन लिनु भएको थियो । ह्याकरको समूहले २० प्रतिशत दिने भन्दै मार्केटिङ गरेका थिए ।’ उनले भने ।

निरौलाले आफूले भने यसरी अवैध बाटोबाट स्वास्थ्य बीमा नगरेको बताए । ‘तपाईंले एलायन्समा कति जनाको स्वास्थ्य बीमा गर्नुभएको थियो ?’ भन्ने मोटिभेटको प्रश्नमा उनले आफूले १ जनाको पनि बीमा नगरेको बताए । श्रोतले मोटिभेटलाई दिएका जानकारी अनुसार उनले १० जना विद्यार्थीको बीमा गरेका थिए । मोटिभेटले समाचार लेखेपछि ह्याकरहरुको यो धन्दा पनि रोकिएको छ । करोडौं अमेरिकी डलर अपचल भएको यो विषयमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक बेखबर छ ।

उनको पुँजी पलायनको धन्दा यो मात्र होइन विगतमा पनि अस्ट्रेलियास्थित लिड कलेजको प्रतिनिधि भएर करोडौं रकम कुम्ल्याएका थिए । नेपालको मार्केटिङ गरेको भनेर बहाना गर्दै हुण्डिको कारोबारमा संलग्न उनी विद्यार्थी पठाएबाट आउने कमिसन हुण्डिमार्फत व्यवसायीलाई दिन्थे । उनले अवैध धन्दाको सुइको पाएको कलेजले बर्खास्त गरेको थियो ।