म अस्ट्रेलियन नागरिक होइन : राजु निरौला

बुधबार, ६ असार २०८०

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) का महासचिव राजु निरौलाले आफू अस्टेलियन नागरिक नभएको बताएका छन् । मोटिभेट न्यूज डटकमले सम्प्रेषण गरेको समाचारप्रति असन्तुष्टि जनाउँदै निरौलाले आफू अस्ट्रेलियन नागरिक नभएको बताएका हुन् ।

असार ४ गते प्रकाशित ‘फेकनको चुनाव असार २३ गते, अध्यक्षका लागि दुई जना भिड्दै’ शिर्षकको समाचार प्रति असन्तुष्टि राख्दै उनले आफू नेपालको अनागरिक नभएको बताएका हुन् । अनलाइनमार्फट हस्ताक्षर बिनाको खण्डन पठाउँदै उनले आफू अध्ययन समापन पश्चात सन् २०१३ मा नेपाल फर्किएको बताएका छन् ।

साथै, उनले असार ५ गते प्रकाशित ‘पुँजी पलायनको धन्दा चलाउँदै फेकनका महासचिव निरौला’ शिर्षकको समाचार पनि खण्डन गरेका छन् । उनले ‘एलायन्स इन्स्योरेन्स कार्ड ह्याक प्रकरण’ मा हाम्रो कुनै पनि हिसाबले संलग्नता नरहेको बताएका छन् ।

उनले समाचारको खण्डनमा जे सुकै भनेता पनि हामी हाम्रो श्रोत प्रति विश्वस्त छौं । यसबारेमा श्रोतले दिएका प्रमाणसहितको सृङ्खलाबद्ध समाचार निरन्तर प्रकाशन/प्रसारण गर्दै जानेछौं ।