जनतामा जागेको विश्वासको कारण कानुन र लोकतन्त्रको सर्वोच्चता स्थापित भयोः प्रधानमन्त्री
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारले इतिहासमै ठूलो अनुसन्धान र कारबाहीपश्चात् जनतामा विश्वास जाग्न सुरु भएको भन्दै यसले कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको मन्त्रालयगत प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले ‘हाई प्रोफाइल’ मानिसहरु काुननभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बढिरहँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको सरकारको एक्सनले व्यवस्थाप्रति जनतालाई जगाएको भरोसा भएको बताए ।
“अहिले जनतामा जुन असन्तोष र आवेग थियो, अहिले त्यसमा सुधार भएको छ । यसलाई भरोसामा अभिवृद्धि भएको छ । यसलाई उपलब्धि मानेको छु,” उनले भने, “नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थहरु एउटा वर्ग कानुनभन्दा माीि छ भन्ने कुरा गलत भएको छ । अब लोकतन्त्रको सर्भिसिङ र सुदृढीकरण सुरु भएको छ । यो यतिमा रोकिने छैन । यो निरन्तर अघि बढेको छ ।” प्रधानमन्त्री प्रचण्डले मंगलबारबाट ललितानिवास जग्गा प्रकरणका दोषीहरुलाई पनि प्रकाउ गर्न थालिएको भन्दै यतिमै यो नरोकिने बताए ।