बैंकहरुले ठूलो व्यापारीहरुलाई मात्रै ऋण दिने गर्छन्ः अमरेशकुमार सिंह

आइतबार, १७ असार २०८०

काठमाडौं— प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले गाउँका गरिब जनताबाट निक्षेप संकलन गरेर बैंकहरुले ठूलो व्यापारीहरुलाई मात्रै ऋण दिने गरेकोमा आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

‘गाउँगाउँमा ऋण दिने व्यवस्था गर्नुपर्छ बैंकबाट । गरिब जनताले चाहेको बेलामा बैंकहरुको ऋण दिने व्यवस्थाको सरकारले ग्यारेन्टी गर्नुपर्छ’ उनले भने, ‘होइन भने बैंक भनेको त ठूलाहरुको मात्रै हो । मेरो गाउँमा नेपाल बैंक लिमिटेडको शाखा छ । तर गाउँका गरिव जनतालाई कहिल्यै पनि ऋण दिँदैन । तर त्यहाँका जनताले बचत गरेको रकम काठमाडौं पठाउँछ । त्यसकारण यो ऋणीका लागि कानुन बनाउन खोजिएको छ । ’

सिंहले ठूला व्यापारीहरुसँग ठूला नेताहरुको मिलेमतो हुने गरेकाले बैंकहरुले पनि ठूला व्यापारीलाई नै अर्बौको ऋण दिने गरेको आरोप समेत लगाए । उनले बैंकहरुले गरिबलाई मर्दा र अति आवश्यक पर्दा पनि विनाधितो ऋण नदिएको उल्लेख गर्दै त्यो व्यवस्थामा परिवर्तन गर्न पनि सरकारलाई सचेत गराए । ‘सबै बैंकहरु ठूला व्यापारीका लागि छन् ।

ठूलो नेताहरुको घरघरमा त ठूला व्यापारी आउँछन् । बिचरा, गरिव, दलित, किसान त आउँदैनन् ’ सिंहले भने, ‘आज जगदम्बा ग्रुपले गति ऋण लिएको छ? चौंधरी गु्रपले कति ऋण लिएको छ? ज्योति ग्रुपले कति ऋण लिएको छ? ठूला ठूलाले अर्बौमा ऋण लिने, त्यो गाउँका गरिबलाई एक लाख ऋण दिन्छ? विना धितो ऋण दिन्छ?’ सांसद सिंहले गरिबसँग धितो राख्ने कुनै सम्पत्ति नहुने भएकाले उनीहरुलाई राज्यले नै जमानी बसेर बंैकहरुबाट ऋण लिने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए ।