राम्रो काम गर्छ भनेर आफूलाई सरकारमा जान नदिने प्रयास भइरहेको छ : ओली
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आयो भने राम्रो काम गर्छ भनेर आफूलाई सरकारमा जान नदिने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।
सोमबार भक्तपुरमा निर्माण गरिएको एक ज्येष्ठ नागरिक आश्रम उद्घाटनको क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने उद्देश्यका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपाय खोज्ने गरेको ओलीको दाबी छ ।
उनले आफू कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताएका थिए ।
यस क्रममा अध्यक्ष ओलीले सडक बालबालिकाको व्यवस्थापनको काम आफूले नै सुरु गरेको दाबी गरेका छन् ।
ओलीले भने, ‘कमसेकम के चाहिँ भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता सुरु गरिएको थियो । पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्तिहृरु, अपांगता भएका व्यक्तिहरु समेतलाई प्रतिमहिना ४ हजार दिने गरी त्यो प्रबन्धमा मैले पुर्याएको छु । आफैंले निर्णय गरेर । हाम्रा बालबालिकाहरु अनाथ भएर, सडकमा खाते भएर बस्न सक्दैनन् । नेपालमा त्यस्तो सुहाउँदैन, त्यसको व्यवस्था सरकारले गर्छ भनेर मैले ती बालबालिकाहरुको प्रबन्धहरु गराएँ, कोही पनि सडकमा हुनुहुन्न भनेर तिनको खाने, बस्ने, पढ्ने प्रबन्ध सुरु गराएँ । नेपाल भिखमंगाको देश होइन भनेर भिख माग्न कसैले नपरोस् भनेर, सोधेर, खोजेर भिख माग्नु नपर्ने स्थिति बनाइयो ।
आफ्नो कार्यकालमा विकास निर्माणका धेरै काम भएको र आफूले बिना स्वार्थ ती काम अगाडि बढाउन चाहेको पनि उनको भनाइ थियो । कुनै प्रतिफल नहेरिकन आत्मसन्तुष्टिका लागि आफूले ती कामहरू गरेको ओलीले बताएका थिए । तर आफूलाई सरकारमा रोक्न केही मानिसहरू लागिपरेको उनको जिकिर थियो ।