आत्मविश्वास र लगननै सबैभन्दा ठूलो सम्पति हो

शुक्रबार, २२ असार २०८०

काठमाडौं— एकादेशमा एउटा जंगलमा एक जोडी सिंह थिए । समय भएपछि सिंहनीले एक बच्चा जन्मायो । त्यो ज्यादै सानो थियो । यसको आमा–बुबा शिकारमा गएकथिए । आउन ढिलो भयो । त्यो भोकले चुर भयो ।त्यो खानाको खोजीमा बाहिर निस्कियो । खाना त पायो तर त्यो एक भेडा थियो । त्यस भेडाको बच्चा मरेको थियो । सिंहको बच्चालाई अगाडि देखेर त्यसले आफ्नै दुध खुवाउन थाल्यो । सिंहको बच्चा भोको थियो ।

दुधको स्वाद फरक भए पनि बच्चाले दुध पियो र त्यस भेडालाई आमा सम्झि यससितै गयो । त्यो भेडाको हुलमा रहन थाल्यो । यो भेडाजस्तै डरपोक र सीधा बन्यो । त्यसलाई आफ्नो शक्तिको ज्ञान थिएन । केही समय पछि एक सिंहको गर्जनको आवाज आयो । त्यो पनि अचानक गर्जन थाल्यो । यसले भेडा भाग्न थाल्यो । त्यो गर्जदै सिंहसित गयो । तब त्यसलाई आफ्नो शक्तिको ज्ञान भयो । त्यो पुनः सिंह बन्यो । हामीमध्ये धेरै मानिस आफ्नो जीवनमा सिंहको समान छौं ।

तर आफ्नो शक्तिको पहिचान नहुनाले भेडाको हुलमा रहन विवश छौं । सिंहको जस्तो शक्ति भएर पनि भेडा जस्तो भएर बाँचेका छौं । हामीले आफ्नो वास्तविक शक्तिलाई भुलेका छौ प्रत्येक व्यक्तिमा सिंहको समान शक्ति हुन्छ । उसले आफ्नो यो शक्तिलाई चिन्न नसक्नु अर्को कुरा हो तर उसमा यो शक्ति भने निहित छ ।

प्रत्येक व्यक्तिमा उसको सिंहत्व (पुरुषत्व) निहित रहन्छ । जब कुनै अवसर आउँछ, तब व्यक्तिको सिंहत्त्व विउझन्छ । तब उसलाई आफ्नो स्थितिमा आश्चर्य लाग्दछ । प्रायः ठेस लागेपछि या ठोक्कर खाएपछि मात्र प्रत्येक व्यक्तिको रूप एक पटक भए पनि उठ्दछ । आफ्नो शक्तिको ज्ञान भएपछि सिंहको समान ऊ गर्जिन थाल्छ । जब उसलाई ज्ञान हुन्छ कि त्यो दिव्य शक्ति ऊसित छ, तब उसले आफ्नो क्रियाको प्रतिशोध लिन्छ, आफ्नो ठोक्करलाई संभवमा बदल्न सक्छ । उसलाई आफूभित्र कुनै पनि कार्य आफ्नो सामर्थ्यबाहिर हुँदैन । ऊ प्रत्येक कार्यको लागि तयार हुन जान्छ । उसको तन–मनबाट सारा दुर्बलता हट्दछन् । तब ऊ वास्तवमा सिंहं पुरूष बन्दछ ।

जब मानिसलाई आफ्नो शक्ति, आफ्नो पौरूष रूप तथा आफ्नो सिंहत्वको ज्ञान हुन्छ, तब उसले आफ्नो व्यवहार नै बदल्दछ । तब उसले गुलामी या हजुरिया या दास बनेर रहँदैन ऊ आफ्नो उन्नतिको उच्च आकांक्षाले भरिन्छ । उसले अभुतपूर्व परिश्रम गरी आफूलाई परिवर्तन गर्दछ । उसमा आएको क्षमताले तपाई आफै छक्क पर्नुहुनेछ । उसले बराबर परिश्रम गर्दै जानेछ । उसलाई कसैले रोकेर रोक्न सक्दैन । वास्तवमा प्रत्येक व्यक्तिमा असाधरण शक्ति रहेको हुन्छ । उसले केवल आफ्नो क्षमतालाई चिन्न सक्नुपर्छ ।

आज तपाई के हुनुहुन्छ? यसको कुनै महत्व छैन । महत्व के छ भने तपाई भविष्यमा के बन्न चाहनुहुन्छ । यो एक सर्वमान्य नियम र सिद्धान्त हो कि कोही आफ्नो जमाएको पुजीलाई घाटाको व्यापारमा लगाउनको लागि तयार हुँदैन । यस्तो अवस्थामा प्रगति हुन सक्दैन भन्ने उसलाई थाहा हुन्छ । लाभ हासिल गर्न सकिने व्यापारमा नै मानिसले आफ्नो पुंजी लगाउन चाहन्छ । मानिसको अन्तःकरणमा जुन पुँजी जम्मा भएको छ त्यसको मुल्य भौतिक रूपमा जम्मा गरिएको पुँजीको मुल्यभन्दा कैयौँ गुणा बढी हुन्छ ।

त्यसो हो भने तपाई आफ्नो अन्तःकरणमा जम्मा पुंजीलाई घाटाको व्यापारमा किन लगाउनुहुन्छ? आफ्नो पुंजी व्यर्थमा किन खेर फाल्नुहुन्छ? त्यो पुंजीले तपाई संसारमा भएको प्रत्येक वस्तु प्राप्त गर्न सक्नुहुन्छ । यसलाई सदुपयोग गर्नुहोस् । तपाईसित विशाल भण्डार छ । तैपनि तपाई सानातिना पुंजीको पछाडि किन लाग्नुहुन्छ? योभन्दा ठूलो दुर्भाग्य के हुन सक्छ । यसलाई मानिसको विडम्बना नै मान्नुपर्छ । तपाई आफूलाई गरिव किन ठानिरहनुभएको छ?

अथाह योग्यताको पुंजी त हामीभित्रै छ । यति हुँदाहुँदै पनि तपाईले दुखनीय जीवन बाँचिरहनुभएको छ भने यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ? यस्तो अवस्थाको लागि को दोषी छ? के तपाईले आफ्नो अन्तः करणमा भएको पुंजीलाई आफ्नो काममा लगाउनुभएको छ? जबसम्म तपाई पुंजी लगाउनुहुन्न तपाईलाई के लाभ प्राप्त हुन सक्छ? आफ्नो व्यक्तित्वलाई गौरवशाली बनाउनुहोस् । आफ्नो व्यक्तित्वको गुणलाई विकास गर्नुहोस् । आफ्नो जीवनको निश्चित कार्यक्रम बनाउनुहोस् । योजना बनाएर कार्य गर्नुहोस् । यसो गर्नाले तपाईको सारा शक्ति जागृत हुन सक्दछ । तपाईको सुतेको प्रतिभा प्रस्फुटित हुन्छ ।

कहिलेकाहीँ तपाईलाई महसुस हुन सक्छ कि तपाईभित्र चमत्कारिक शक्ति छ । यो शक्ति आउनेवित्तिकै हराएको हुन सक्छ । एकपटक आफ्नो अन्तकरणको यो शक्तिलाई जागृत गरेर हेर्नुहोस् यसले तपाईको जीवनमा चमत्कार गर्नेछ । यो शक्तिले संसारको कुनै पनि कुरा तपाईलाई दुर्लभ लाग्दैन । आफूमा अन्तर्निहित शक्तिलाई उपयोग गरेर आफ्नो जीवनमा चमत्कारिक सफलता हासिल गरेका असंख्य उदाहरण छन् जो प्रेरणा लिए । समाजको अनुकरणीय पुञ्ज बने । तीबाट अनेकौँ मानिसले प्रेरण लिए ।

प्रकृतिले मानिसको लागि सबै कुरा छोडेको छ । मानिसले जे चाहन्छ, त्यसलाई दिनको लागि प्रकृति तयार छ तर प्रकृतिले एक प्रतिबन्ध लगाएको छ । उसले मानिसले कामना गरेको प्रत्येक वस्तुमा ताला लगाएको छ । तपाई चाबी ल्याउनुहोस् र ताल्चा खोलेर आफ्नो कामनाको वस्तु लैजानुहोस् । तपाईले चाबी बनाउनैपर्छ, किनकि तपाईको अन्तः करण अत्यन्तै बुद्धिमान छ । त्यसले प्रत्येक ताल्चाको चाबी बनाउन सक्छ । यसको लागि तपाईले आफ्नो अन्तः करणलाई जागृत गरी सम्बन्धित ताल्चाको चाबी बनाउनको लागि प्रेरित गर्नुपर्दछ । जब तपाई चाबी बनाउनुहुन्छ, त्यो वस्तु तपाईको हुन्छ । त्यसमा तपाईको अधिकार रहन्छ । यदि तपाईले चाबी बनाउन सक्नुभएन भने यसको कारण तपाईको अज्ञानता र विश्वासहीनता हो ।

तपाई मानव हो । यस प्रकारको दुर्बलता तपाईमा हुनुहुँदैन । मानिसको रूपमा तपाई संसारको सर्वश्रेष्ठ प्राणी हो । यस प्रकारको दुर्बलता अत्यन्त अशोभनीय छ । संसारको सबै क्षेत्रको मानिस वीर, नेता, वैज्ञानिक, सन्त आदि महापुरूष आफ्नो जीवनमा तब सफल भए, जब तिनले आफ्नो यस शक्तिलाई चिने, जब तिनलाई आफ्नो शक्तिको ज्ञान भयो तब आफ्नो आन्तरिक शक्तिको बलले महान् बने । तिनले आफ्नो कामना प्राप्त गरे । जसले आलस्य त्यागेर आफ्नो अन्तर्प्ररणाको बलले परिश्रम गर्नमा लागिपरे ती महानतातर्फ अग्रसर भए । आफ्नो शक्तिलाई चिन्ने मानिसबाट नै आदर्श जीवनको आशा राख्न सकिन्छ । समाजलाई पथ-प्रदर्शनको लागि सधै महापुरूषको आवश्यकता हुन्छ । आज पनि हामीबीच महापुरूष छन्, सफल मानिस छन् । तिनकै अनुभव र जीवन-चरित्रको आधारमा पाईएको निष्कर्षको निचोड यस पुस्तकमा दिइएको छ ।

प्रत्येक मानिसभित्र एक व्यक्तित्व लुकेको हुन्छ । यो अत्यन्त पराक्रमी र समस्त इच्छालाई साकार गर्ने किसिमको हुन्छ जसले सफलतालाई आफूतिर आकर्षित गर्दछ । यो एक कर्म-परायण व्यक्तित्व हो । आत्मविश्वासको सूर्य उदाउने वित्तिकै यो व्यक्तित्व व्युँझेर उठदछ । तपाई पनि यस व्यक्तित्वको धनी हुनुहुन्छ । तपाईले नउठाएसम्म यो सुतिरहन्छ । आफ्नो अन्तर्प्ररणाले यसलाई उठाउनुहोस् र सफलतातिर अघि बढनुहोस् ।

मानिसको विकास भएको हजारौ वर्ष वित्यो । तपाईलाई प्रत्येक ठाउँमा परिवर्तन दृष्टिगत हुन्छ तर सच्चाई के छ भने प्राकृतिक नियममा कुनै परिवर्तन आएको छैन । भौतिक र रासायनिक शास्त्रको नियम आफ्नो ठाउँमा अटल र अपरिवर्तनीय छ, यस प्रकार मानिसको विचार रचनाको जुन नियम छ, त्यसमा पनि परिवर्तन आएको छैन । आत्माको चेतन, भचेतन मनको त्यही नियम छ, जुन आदिकालदेखि चलिआइरहेको छ । आविष्कार बराबर हुदै गयो । आइज्याक न्यूटनसित जे उपकरण थियो। त्यही उपकरण थोमस एल्वा एडीसनसित पनि थियो, तर एडीसनको आविष्कार न्यूटनको भन्दा अगाडि गयो । हामी बराबर आविष्कारको समाचार सुन्छौं । यसले के थाहा हुन्छ भने मानिसको ज्ञानको सीमा छैन ।

मानिसको ज्ञान अनन्त छ । एक पटक उसको अन्तरप्रेरणाले काम गर्यो भने उसको लागि सबै कुरा सम्भव छ । तब ऊ यस्तो काममा लीन हुन्छ जसलाई सर्व-साधारण मानिस असम्भव मान्छन् तर उसले गरेर देखाउछ । यही नै मानिसको लगनको फल हो । मानिस संसारको अन्य जीवको तुलनामा कम शक्तिशाली र कम तौलको छ । तर ऊ संसारको समस्त चेतना जगत्मा सर्वश्रेष्ठ केवल आफ्नो लगन र मानसिक बनावटको कारणले भएको छ । ऊसित बुद्धि छ यसको साथमा ऊभित्र अदृश्य शक्ति पनि छ, जसको बलमा उसले सबैकुरा गर्न सक्दछ । आफ्नो यसै कौशलको कारणले ऊ सम्पूर्ण संसारको स्वामी बन्न गएको छ ।

नदी-नाला, पहाड, आकाशमा उसले आफ्नो अधिकार जमाएको छ । उसले पहाड पार गर्न वायुयान, समुद्र पार गर्नको लागि पानीजहाज बनाएका छन् । भएका छन् । सम्पूर्ण प्रकृतिलाई मानिसले आफ्नो मुट्ठीमा राख्न सफल भएका छन् । आफ्नो अन्तप्रेरणाले प्राप्त कार्यशक्तिको बलमा मानिसले बराबर प्रगति गर्दै आइरहेका छन् । कार्यशील भएर मानिसले सबै कुरा गर्न सक्छन् । हामी जबसम्म संतोष प्राप्त गर्दैनौ, तबसम्म त्यसको लागि सधै प्रयत्नशील रहनुपर्छ । जब हाम्रो अन्तः करणले प्रेरणा ग्रहण गर्दछ, त्यसै क्षण हामीलाई के स्पष्ट रूपमा अनुभूति हुन थाल्छ भने हामी भित्र एक गौरवमय व्यक्तित्व लुकेको छ । यदि हामी यसलाई जागृत गर्छौं भने हामीलाई कुनै कार्य असम्भव लाग्दैन ।

दुःखको कुरा के रहेको छ भने धेरै मानिस जीवनभरि आफ्नो लागि जादू या चमत्कारको प्रतीक्षा गर्दछन् । तर यस प्रकारको कुनै जादू हुँदैन । यस प्रकारको कुनै कल्पना हुँदैन कि मानिसले जे चाहन्छ, त्यसै समय पूरा हुन्छ । यस प्रकारको तत्काल इच्छा पूरा गरिदिने शक्ति हुँदैन । त्यो शक्ति तपाईको अन्तः करणमा निहित छ र तपाईले यसको लागि तपस्या, परिश्रम तथा त्गाग गर्नुपर्छ । एक प्रश्न छ । आफूलाई यस प्रश्न गर्नुहोस् । मानिसलाई तुच्छ कसले बनाउँछ? मानिसले दुःखी र कष्टले भरिएको जीवन किन व्यतीत गर्छ?

यसको इमानदार उत्तर हो आत्मविश्वासको अभाव । आत्माशक्तिविनाको मानिसले पशु समान जीवन व्यतीत गर्छन । जब अन्तर्द्रेरणा विकसित हुन्छ, तब उसले आफ्नो जीवनलाई माथि उठाउँछ । अन्तर्प्ररणाको शक्तिले सबै कुरा प्राप्त गर्छ । सबको सबै आशाहरू साकार हुन्छन् । आत्मालाई तृप्ति तथा संतोष मिल्दछ । जीवनमा सफलता प्राप्त गर्दछ । वास्तवमा हामी ईश्वरीय शक्तिको अंश हो । ईश्वरीय शक्तिबाट हामी अभिन्न छैनौं ।

वास्तवमा यो कथन तपाईलाई आस्तिक बनाउनको लागि होइन । तपाई नास्तिक पनि हुन सक्नुहुन्छ । ईश्वर शब्दको तपाई प्रयोग नगर्नुहोस् । कुनै एक महान् जोड्नुहोस् । शक्तिलाई मान्नुहोस् । उससित आफ्नो नाता हाम्रो शरीरमा यो ईश्वरीय शक्ति त्यसै रूपमा विद्यमान रहन्छ, जसप्रकार बिजुलीको तारमा करेंटको झट्का आउँछ । हामी उसलाई देख्न सक्दैनौ, तर उसले आफ्नो कार्य गरिरहन्छ । हामीभित्रको ईश्वरले अदृश्य रहेर नै हाम्रो मनोबल बढाउँछ । हामी सबकै कृपाले लक्ष्य हासिल गर्छौं । जीवन एक संग्राम हो । यस संग्राममा त्यही विजयी बन्छ, जोसित आत्मविश्वास र लगन हुन्छ । यही सबैभन्दा ठूलो सम्पति हो । यसको बलमा तपाई विजयी हुनुछ । यसकै बलमा तपाईले आफ्नो तमाम शत्रुलाई परास्त गर्नुछ ।