प्रचण्ड भयो, अब गर्नुहुन्छ के?– प्रधानमन्त्री

सोमबार, २५ असार २०८०

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिएका छन् । उनले भावनामा बगेर त्यो कुरा बोलेको बताए ।

प्रधानमन्त्रीको भनाइ यस्तो थियोः

‘म अलिकति भावनात्मक छु नै । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के? थोरै भावनामा म आएँ । मैले त्यो कुरा नभने हुन्थ्यो । भन्नुपर्ने जरुरी थिएन । तर मैले भनेँ । मनमा आयो भनेँ । राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो? यति सहज र स्वभाविक कुरा‘ प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा । उनले भनेर कसैलाई प्रधानमन्त्री हुने वा बन्ने भन्ने होइन। कसैलाई प्रधानमन्त्री बनाउँने सामर्थ पनि छैन । त्यस्तो खालको व्यक्ति पनि होइनन् । हिजो अस्ति प्रितम आफैले पनि भनेका छन् । उनीसँग नेता तथा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँगबिरामी छोरीलाई सहयोग गरेको कृतक्ष बाबुको सम्बन्ध मात्रै हो ।’